महोत्तरी । शारदीय नवरात्र प्रारम्भसँगै जलेश्वरस्थित त्रिशूली देवीको मन्दिर सर्वसाधारणका लागि खुला गरिएको छ । यो मन्दिर शारदीय र वासन्तीय नवरात्रमा मात्र खोलिने परम्परा छ ।
मन्दिरमा शास्त्रोक्त विधिले आज घटस्थापना गरिने र विजया दशमीसम्म यो मन्दिर खुला रहने छ । शारदीय नवरात्रमा १० दिन खोलिए पनि चैत शुक्लपक्षको वासन्ती नवरात्रमा भने प्रतिपदादेखि नवमीको मध्यरातसम्ममात्र खोलिने गरेको जलेश्वरनाथ महादेव मन्दिरका मुख्य पुजारी उपेन्द्र पाठकले बताए ।
जलेश्वरनाथ शिवलिङ्गसँगै त्रिशूली देवी स्थापना भएको जनविश्वास छ । नवरात्रभर त्रिशूली देवीको नित्य पूजाअर्चना जलेश्वरनाथ महादेव मन्दिरका पुजारीबाटै हुँदै आएको छ । त्रिशूली देवीको दर्शनका लागि महोत्तरीसहित मिथिला क्षेत्रका धनुषा, सर्लाही , सिरहा र छिमेकी मुलुक भारतका सीतामढी, मधुवनी, शिवहर र झञ्झारपुर जिल्लासम्मका श्रद्धालु आउने गरेका छन् ।



