काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रभावका कारण देशका हिमाली र पहाडी भूभागमा आंशिक बदली आइ बादल लागेको छ भने तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।
आज दिउँसो भने देशको तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ भने कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बादल लाग्नेछ तथा देशको बाँकी हिमाली तथा पहाडी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । देशको तराई भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानीपख केही स्थानमा हुस्सु र कुहिरो लाग्नेछ ।




