काठमाडौँ । पत्रकार विश्वमणि सुवेदीलाई प्रहरीले बानेश्वरस्थित नेपाल प्रेस अनलाइनको समाचार कक्षबाट नियन्त्रणमा लिएको छ। शुक्रबार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सुवेदीलाई नियन्त्रणमा लिएर साइबर ब्युरोमा पुर्याएको हो।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीसँग सम्बन्धित प्रकाशित समाचारको विषयमा सोधपुछ गर्न सुवेदीलाई नियन्त्रणमा लिइएको बताइएको छ।
सुवेदीलाई नियन्त्रणमा लिन सादा पोसाकमा प्रहरी कर्मचारी नेपाल प्रेसको कार्यालय पुगेका थिए। उनलाई कार्यालयबाटै लगिएपछि घटनाबारे जानकारी लिन नेपाल प्रेसका प्रधान सम्पादक मात्रिका पौडेलसमेत साइबर ब्युरो पुगेका छन्।
साइबर ब्युरोको अनुरोधमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले सुवेदीलाई उपस्थित गराएको हो। प्रहरीले समाचारसँग सम्बन्धित विषयका अतिरिक्त शान्ति सुरक्षाको पक्षसमेत जोडिएको जनाएको छ।
यसैबीच, नेपाल प्रेस अनलाइन सञ्चालन गर्ने नेपाल इप्रेस मिडिया प्रालिका अध्यक्ष विन्दुराज लम्साललाई समेत साइबर ब्युरोमा बोलाइएको छ।
सुवेदीलाई औपचारिक रूपमा पक्राउ गरिएको हो वा सोधपुछका लागि नियन्त्रणमा लिइएको हो भन्ने विषय स्पष्ट भइसकेको छैन। उनीविरुद्ध कुनै उजुरी परेको वा कानुनी कारबाही अघि बढाइएको सम्बन्धमा पनि थप विवरण सार्वजनिक भएको छैन।




