काठमाडौँ । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँलेले समाचारको स्रोत पत्ता लगाउन प्रहरीले समाचार कक्षमै प्रवेश गरी पत्रकार पक्राउ गर्न थालेको हो भने संविधानको रक्षाका लागि संघर्ष गर्नुपर्ने अवस्था आएको टिप्पणी गरेका छन्।
शुक्रबार विभिन्न सञ्चारमाध्यमका पत्रकारलाई प्रहरीले नियन्त्रणमा लिएको तथा केही सञ्चारगृहमा प्रहरी पुगेको घटनाका सन्दर्भमा गाउँलेले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया जनाएका हुन्।
‘समाचारको स्रोत पत्ता लगाउन समाचार कक्षमा छिरेर प्रहरीले पत्रकार पक्राउ गर्न थालेको हो भने यो मुलुकमा संविधान सकियो,’ गाउँलेले लेखेका छन्, ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि लड्दै गरौँला, पहिले संविधान जोगाउन लड्नु पर्ने भयो।’
उनले पत्रकार पक्राउको घटनालाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा मात्र सीमित नराखी संविधानको संरक्षणसँग जोडेर प्रश्न उठाएका हुन्। समाचारको स्रोत पहिचान गर्ने उद्देश्यले पत्रकार पक्राउ गरिएको हो भने त्यसले संवैधानिक व्यवस्थामै गम्भीर प्रश्न खडा गर्ने उनको आशय छ।
शुक्रबार प्रहरीले नेपाल प्रेसका विश्वमणि सुवेदी, मोटिभेट न्युजका शोबराज बराल र डीएनए खबरका धिरज बस्नेतलाई नियन्त्रणमा लिएको विवरण सार्वजनिक भएको छ।
त्यसैगरी, नयाँ पत्रिका दैनिकको कार्यालयमा पुगेको प्रहरी टोलीले पत्रकार नवराज मैनालीबारे सोधखोज गरेको तथा दियो पोस्टका पत्रकार सुदीप विश्वकर्मा र मदन ढुंगानालाई खोज्दै प्रहरी कार्यालय पुगेको विवरण पनि सार्वजनिक भएको छ।
पत्रकारलाई नियन्त्रणमा लिने र समाचार कक्षमा प्रहरी पुग्ने घटनाप्रति प्रेस काउन्सिल नेपालले समेत आपत्ति जनाएको छ। काउन्सिलले पक्राउको स्पष्ट कारण र कानुनी आधार सार्वजनिक गर्न तथा कानुनी आधारबिना नियन्त्रणमा राखिएका पत्रकारलाई तत्काल रिहा गर्न आग्रह गरेको छ।




