काठमाडौँ । चितवनमा करिब दुई लाख ८६ हजार रुपैयाँ मूल्य बराबरका विभिन्न किसिमका पटकासहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतको मतियारी लक्ष्मीपुर लौखान-१६ घर भई चितवनको कालिका नगरपालिका-६, हरियार टोल पदमपुरमा डेरा गरी बस्ने ४१ वर्षीय सञ्जय शाह तेली र भारतको मतियारी पटझिलवा-८ घर भई भरतपुर महानगरपालिका-३, बाह्रघरेमा बस्दै आएका २९ वर्षीय राज जयसवाल रहेका छन् ।
नेपाल प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको टोलीले आइतबार दिउँसो तेलीको डेरा खानतलासी गर्दा करिब दुई लाख रुपैयाँ मूल्य बराबरका विभिन्न किसिमका पटका बरामद गरेको हो ।
त्यसैगरी, आइतबार साँझ जयसवालको डेरामा खानतलासी गर्दा करिब ८६ हजार रुपैयाँ मूल्यका पटका फेला परेका थिए । प्रहरीले उनको साथबाट १५ हजार भारतीय रुपैयाँ र एक लाख ४८ हजार तीन सय नेपाली रुपैयाँसमेत बरामद गरेको जनाएको छ ।
दुवै जनालाई बरामद सामग्रीसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।




