काठमाडौँ। अध्यागमन विभागले आवश्यक अनुमति नलिई विदेशी पर्यटकलाई निषेधित क्षेत्रमा लैजान खोज्ने ट्रेकिङ एजेन्सीलाई ५० हजार रुपैयाँ जरिबाना गरेको छ।
बेल्जियमका दुई नागरिकलाई पदयात्रा अनुमतिबिना डोल्पाको डोल्पोबुद्ध गाउँपालिकातर्फ लैजान खोजेको आरोपमा गरिमा भोयज ट्राभल्स एन्ड ट्रेक्स प्रालिमाथि कारबाही गरिएको हो।
विभागका अनुसार उक्त एजेन्सीले विदेशी पर्यटकलाई निषेधित क्षेत्रमा लैजाने क्रममा स्थानीय प्रशासनले दिएको निर्देशनसमेत अवज्ञा गरेको थियो। घटनाबारे जिल्ला प्रशासन कार्यालय डोल्पाबाट पत्रमार्फत जानकारी प्राप्त भएपछि विभागले छानबिन अघि बढाएको थियो।
छानबिनपछि विभागले अध्यागमन ऐन, २०४९ को दफा १० को उपदफा (४) बमोजिम एजेन्सीलाई ५० हजार रुपैयाँ जरिबाना तिराएको हो।
सोही घटनामा संलग्न पथप्रदर्शक अस्बिर भण्डारीमाथि पनि कारबाही प्रक्रिया अघि बढाइएको छ। उनको व्यावसायिक आचरण तथा पथप्रदर्शक इजाजत पत्रसम्बन्धी विषयमा थप छानबिन गरी कानुनबमोजिम कारबाही गर्न सम्बन्धित निकायलाई पत्राचार गरिएको विभागले जनाएको छ।
विभागका अनुसार भण्डारीको इजाजतपत्र र व्यावसायिक आचरणबारे आवश्यक कारबाहीका लागि पर्यटन विभाग तथा बागमती प्रदेश सरकारको उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयलाई पत्राचार गरिएको हो।
अध्यागमन विभागले निषेधित तथा नियन्त्रित पदयात्रा क्षेत्रमा विदेशी पर्यटक लैजाँदा प्रचलित कानुनअनुसार आवश्यक अनुमति अनिवार्य रूपमा लिन ट्रेकिङ एजेन्सी, पथप्रदर्शक तथा पर्यटन व्यवसायीहरूलाई सचेत गराएको छ।
त्यस्तै, अनुमति प्राप्त पदमार्ग, अवधि तथा तोकिएका सर्तहरूको पालना गर्नुपर्ने भन्दै विभागले अनुमति विपरीत पर्यटक लैजाने वा स्थानीय प्रशासनको निर्देशन अवज्ञा गर्ने कार्यमा संलग्नमाथि कानुनबमोजिम कारबाही गरिने स्पष्ट पारेको छ।






