काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले प्रयोगशाला परीक्षणमा तोकिएको मापदण्ड विपरीत रङ तथा संरक्षक पदार्थ प्रयोग भएको पाइएपछि तीन प्रकारका खाद्य वस्तु बजारबाट तत्काल फिर्ता गर्न आदेश दिएको छ ।
विभागले महोत्तरी र ललितपुरका दुई उद्योगबाट उत्पादित चाउमिन कलर, सोया सस र मिक्स भेजिटेबल रेड ससमा खाद्यसम्बन्धी मापदण्ड उल्लंघन भएको पुष्टि भएपछि सम्बन्धित उत्पादकलाई बजारमा पठाइएका वस्तु फिर्ता लिन निर्देशन दिएको हो ।
विभागले कात्तिक २० गते जारी गरेको आदेश अनुसार महोत्तरीको बर्दिबास नगरपालिका-११ स्थित राधाकृष्ण नुडल्सले उत्पादन गरेको ६०० ग्रामको चाउमिन कलर र ६०० ग्रामकै मिक्स भेजिटेबल रेड ससमा कैफियत भेटिएको छ । त्यसैगरी ललितपुर-२२ स्थित ग्रिन नेपाल एग्रो प्रालिले उत्पादन गरेको ड्रागन ब्रान्डको ७५० मिलिलिटर सोया सस पनि फिर्ता गर्नुपर्ने सूचीमा परेको छ ।
प्रयोगशाला परीक्षणमा चाउमिन कलर र सोया ससमा खाद्य नियमावली, २०२७ को नियम २२ सँग सम्बन्धित अनुसूची-१० (ख) प्रतिकूल हुने गरी कृत्रिम रङ प्रयोग भएको पाइएको विभागले जनाएको छ ।






