काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीमा जग्गाको सरकारी अभिलेख अनधिकृत रूपमा फेरबदल गरी अर्कै व्यक्तिका नाममा दर्ता गरेको आरोपमा भूमिसुधार तथा मालपोत कार्यालयका तत्कालीन प्रमुख र वडाध्यक्षसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले भूमिसुधार तथा मालपोत कार्यालय, सर्लाहीका तत्कालीन कार्यालय प्रमुख पनिलाल यादव, तत्कालीन नायब सुब्बा टुकराम कोइराला र तत्कालीन खरिदार राजेश कुमार झाविरुद्ध बिहीबार विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरेको हो ।
त्यस्तै, सर्लाहीको ईश्वरपुर नगरपालिका–१५ का तत्कालीन वडाध्यक्ष कपिलदेव चौधरी, तत्कालीन वडा सचिव राम गुलाम राय, जग्गा प्राप्त गर्ने किशोरी धामी थारू तथा जग्गा प्राप्त गर्न सिफारिस र निवेदन दिने भोला धामी थारुलाई समेत प्रतिवादी बनाइएको छ ।
सर्लाहीको साविक बलवा सोकनाहा गाउँ विकास समिति वडा नम्बर २ ९ख० अन्तर्गत कित्ता नम्बर ६२ को ११ कट्ठा दुई धुर जग्गा कर्मचारी तथा भूमाफियाको मिलेमतोमा फर्जी जग्गाधनी पुर्जा बनाएर बेचबिखन गरिएको भन्ने उजुरीका आधारमा आयोगले अनुसन्धान गरेको थियो ।
अनुसन्धानका क्रममा रामदेव बैठा र राजदेव बैठाको हकभोगमा रहेको जग्गालाई यसअघि कुनै पनि समयमा हकभोग नरहेका किशोरी धामी थारू र भोला धामी थारुको हकभोगमा रहेको देखाएर सरकारी अभिलेख परिवर्तन गरिएको आयोगको दाबी छ ।
प्रतिवादीहरूको मिलेमतोमा वास्तविक विवरण लुकाई किशोरी धामी थारुका नाममा दाखिल खारेज गरिएको, गलत लिखत तयार पारिएको तथा सरकारी कागजातमा अनधिकृत रूपमा हेरफेर र थपघट गरी वास्तविक जग्गाधनीलाई हानिनोक्सानी पुर्याइएको अभियोग पत्रमा उल्लेख छ ।
आयोगले तत्कालीन कार्यालय प्रमुख यादव, नायब सुब्बा कोइराला, खरिदार झा र वडाध्यक्ष चौधरीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र ११ बमोजिम कैद तथा जरिवानाको मागदाबी गरेको छ ।
तत्कालीन वडा सचिव रायविरुद्ध सोही ऐनको दफा ९ र दफा १९ को उपदफा (२) बमोजिम कैद तथा जरिवानाको माग गरिएको छ ।
किशोरी धामी थारू र भोला धामी थारुलाई गैरकानुनी लाभ प्राप्त गर्ने मतियारका रूपमा प्रतिवादी बनाउँदै ऐनको दफा २२ को प्रतिबन्धात्मक वाक्यांशबमोजिम मुख्य कसुरदारसरह सजायको माग गरिएको आयोगले जनाएको छ ।






