भक्तपुर । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमाण बिजुक्छेले संसद्ले बनाएको ऐन कानून फेरि संसद्ले फिर्ता लिन नहुने बताएका छन् ।
भक्तपुर नगरपालिकाद्वारा आज आयोजित भक्तपुर नगरव्यापी ‘धाँ बाजा’ प्रतियोगिता २०७५ का विजयीलाई पुरस्कार वितरण समारोहमा उनले कार्यान्वयनमा पनि राम्रोसँग नआइ संसद्ले बनाएको ऐन कानून फिर्ता गर्न नहुने बताए । बिजुक्छेले भक्तपुर नगरक्षेत्र नाच तथा बाजाको जीवित विश्वविद्यालय रहेको र बाजागाजाका गुरु बाजा र संस्कृतिका प्राध्यापक भएको बताए ।
त्यसअवसरमा प्रदेश नं ३ का प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाइँले चुनावलगत्तै प्रदेशको नाम र राजधानी तोक्ने काम गर्नुपर्नेमा त्यति पनि गर्न नसक्नु विडम्बना भएको बताए । भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतिले काठमाडौँ र ललितपुरमा कला, संस्कृति र सम्पदा हराउँदै गएका अवस्थामा भक्तपुर नगरपालिकाले भने कला संस्कृतिको जगेर्ना गर्ने कार्य गरिरहेको बताए ।
एकतीस समूह सहभागी रहेको ‘धाँ बाजा’ प्रतियोगितामा प्रथम नासःहैमा बाजा खलः, द्वितिय नित्यनाथ दाफा भजन धाँ बाजा, तृतिय एभरेष्ट इ स्कुल ‘धाँ बाजा’, सान्त्वना राइजिङ कल्चर ग्रुप र सान्त्वना आकाश भैरव नौ बाजा भजन गुठीले पुरस्कार हात पारेको छ ।