काठमाडौं । ७ सय ५३ स्थानीय तहलाई समृद्ध बनाउन नसक्दासम्म समृद्ध राष्ट्र निर्माण गर्ने सपना पूरा नहुने बताइएको छ ।
विकास पत्रकार मञ्च र गाउँपालिका राष्ट्रिय महासंघले बुधबार आयोजना गरेको स्थानीय सरकारका सवालमा आमसञ्चार विषयक कार्यशालामा महासंघका अध्यक्ष होमनारायण श्रेष्ठले देशको विकास गर्ने हो सबै स्थानीय तहको विकासको लागि एक भएर लाग्नुपर्ने बताएका छन्।
श्रेष्ठले भने,’सञ्चारमाध्यम पछिल्लो समय नकारात्मक विषयमा मात्र केन्द्रित भएको भन्दै सकारात्मक समाचारको खोजी गर्नतर्फ लाग्नुपर्नेमा जोड दिए । कार्यक्रममा वरिष्ठ पत्रकार मोहन मैनालीले सानासाना समाचारमा भन्दा पनि समाजमा सकारात्मक परिवर्तन ल्याउने किसिमका खोजी समाचार गर्नतर्फ पत्रकार केन्द्रित हुनुपर्ने धारणा राखे ।
अन्नपूर्ण पोष्ट दैनिकका प्रधानसम्पादक हरिबाहदुर थापाले देश विकासको मुख्य खम्बा विद्यालयको स्तर उन्नतिमा वृद्धि र सबै जनतामा स्वास्थ्यको पहुँच हुने हो भने विकासले गति लिने सुझाव दिए ।
कार्यक्रममा सहभागीले विकासको काम गर्दा जनताको सहभागितामा गरिनुपर्ने, जनप्रतिनिधि र कर्मचारीबीच सहकार्यको भावना हुनुपर्नेसँगै सुशासन र विकासलाइ आत्मसात् गरिनुपर्ने धारणा राखेका थिए ।रासस