काठमाडौँ । सञ्चारमाध्यममाथि प्रहरीले गरेको धरपकड र पत्रकार पक्राउको विरोधमा जनकपुरधाममा पत्रकारहरूले प्रदर्शन गरेका छन् ।
नेपाल पत्रकार महासंघको केन्द्रीय समितिको सर्कुलरअनुसार महासंघका जिल्ला शाखाहरूले गरेको विरोध कार्यक्रमअन्तर्गत जनकपुरधाममा पत्रकारहरूले प्लेकार्डसहित मौन प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागी पत्रकारहरूले सञ्चारगृहमा प्रवेश गरी प्रहरीले गरेको धरपकड र पत्रकार पक्राउ गर्ने कार्यले स्वतन्त्र पत्रकारितामाथि दबाब सिर्जना गर्ने बताएका छन् ।
सञ्चारमाध्यममा प्रहरी पुगेर अचानक धरपकड गर्नु पत्रकारितालाई आतंकीत पार्ने योजनाका रूपमा आफूहरूले लिएको एक प्रदर्शनकारीले बताए । पत्रकारसँग कुनै विषयमा सोधपुछ वा छलफल गर्नुपर्ने भए सहज रूपमा बोलाउन सकिने अवस्था हुँदाहुँदै सञ्चारगृहमै पुगेर गरिएको धरपकड अस्वीकार्य रहेको उनको भनाइ छ ।
उनले पत्रकारजस्तो सचेत पेसाकर्मीलाई सामान्य सोधपुछका लागि बोलाउँदा उपस्थित नहुने अवस्था नरहेको उल्लेख गर्दै राज्यले यस्तो कदम चाल्नु उचित नभएको बताए ।
उनले विगत आठ-दश दशकको राजनीतिक इतिहासमा राज्यका यस्ता प्रयास सफल नभएको र अहिले पनि सफल नहुने दाबी गरे । महासंघले सञ्चारमाध्यममाथिको धरपकड र पत्रकार पक्राउको विरोधमा आगामी दिनमा पनि चरणवद्ध आन्दोलन गर्ने जनाएको छ । केन्द्रीय समितिको निर्देशनअनुसार देशभरका जिल्ला शाखाहरूले विरोधका कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको महासंघका प्रतिनिधिले जानकारी दिए ।




