इलाम । आमरण अनशनरत प्राडा.गोविन्द केसीले सार्वभौम संसद्लाई ‘बन्धक बनाउने नियत’ राखेको भन्दै बौद्धिक तथा युवा जनमत उनको मागसँग असहमत देखिएको छ । प्राध्यापक, अधिकारकर्मी र युवा विद्यार्थीले विधि र कानून नमानी कसैले ‘हठ’ को प्रदर्शन गर्न नहुनेमा जोड दिएका छन् ।
प्रतिनिधिसभामा विचाराधीन राष्ट्रिय चिकित्सा विधेयकमा विगतका सहमति शतप्रतिशत समावेश हुनुपर्नेलगायत माग राखी त्रिवि शिक्षण अस्पतालका हाडजोर्नी विशेषज्ञ प्राडा .केसीले इलाम सदरमुकामको एक निजी घरमा गत पुस २५ गतेदेखि अनशन शुरु गरेका छन् । इलाममै केसीको अनशनलाई अनशनकै माध्यमबाट चुनौती दिँदै काठमाडौँका २७ वर्षीय युवा विजय थापा पनि गत पुस २७ गतेदेखि आमरण अनशनमा बसेका छन् ।
उनको स्वास्थ्य अवस्था गम्भीर बनेपछि सोमबार बिहान इलाम जिल्ला अस्पतालमा सारिएको छ । उनको अनशन अब अस्पतालबाटै जारी रहने छ । ‘अलिकति उहाँ विचलित भएको हो कि जस्तो लाग्छ, एउटा व्यक्तिले देशको सार्वभौम संसद्को निर्णयलाई नै बन्धक बनाउने अडान राख्नु हुँदैन’, इलामस्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसका प्राध्यापक सन्तोष पराजुली रासससँग भन्छन्, ‘विधिको शासनको हिसाबले उनको नियतमाथि प्रश्न उठेको छ ।’
प्रा पराजुलीले’अनशन बस्दा सरकार झुकिहाल्छ’ भन्ने हठी सोचको परिणाम नै थापाको अनशन भएको तर्क राखे । ‘सबै माग पूरा हुनुपर्छ भन्नु अराजक हुनु हो’, प्रा पराजुली दुवै अनशनकारी उस्तै–उस्तै प्रवृत्तिको पृष्ठपोषक भएको जनाउँदै भन्छन्, ‘विधिको शासनमा संसद्को निर्णय सरकारले पनि मान्नुपर्छ ।’
इलाम उच्च अदालत बार एशोसिएसनका पूर्वअध्यक्ष सुधीर बोहोरा माग पूरा भएनन् भनेर अनशन बस्दै जाने केसीको प्रवृत्ति ‘अलोकतान्त्रिक हठ’ भएको बताउछन् । ‘उनको अनशनले कानूनी राज्यको लोकतान्त्रिक अवधारणामाथि नै चुनौती खडा गरेको छ’, बोहोरा भन्छन्, ‘माग पूरा भएनन् भने अरुले कानूनी निकायमा जानुपर्ने र डा. केसीले चाहिँ अनशन बस्दा माग पूरा भइहाल्ने कुरा कानूनको उपहास हो ।’
कोही पनि कानूनभन्दा माथि नहुने जनाउँदै बोहोराले सरकारी कर्मचारी भएर अनशनमा बसिरहँदा कस्तो सन्देश गइरहेको छ भन्ने उनले केसीले बुझ्नुपर्ने बताए । उनले अर्का अनशनकारी थापाको अनशन केसीको हठका विरुद्ध अर्को हठको प्रदर्शन भएको टिप्पणी गरे ।
बोहरा भन्छन्, ‘विजय थापा केसीको काउन्टरमा अनशन बसेको भन्छन्, माग त अरु धेरैका छन्, अब सबैले अनशन बसे भइगयो नि भन्ने यी अनशनहरुले सन्देश दिन खोजेको छ ।’ इलामकी अधिकारकर्मी भूमिका आचार्य प्राडा.केसीको अनशनमा प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसको राजनीतिक स्वार्थ मिसिएको बताउछन् ।
‘सत्ता र विपक्षीको राजनीतिक प्रतिष्पर्धा स्वाभाविक हुन्छ, तर यसरी अनशनको माध्यमबाट राजनीति गर्नु हुँदैनथ्यो’, अधिकारकर्मी आचार्य भन्छन्, ‘केसीको समर्थनमा निकालिएका सबै जुलुस र ¥यालीमा काङ्ग्रेसका जिल्ला कमिटीका कार्यकर्ताको सहभागिता हामीले देखिरहेका छौँ ।’
‘माग जायज थियो भने तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा, सुशील कोइराला र डा.बाबुराम भट्टराईकै पालामा सरकारले पूरा गरिहाल्थ्यो नि’, अधिकारकर्मी आचार्य भन्छन् ।
अस्पतालमा हड्ताल गराएर आम नागरिकलाई दुःख कष्ट दिने प्रवृत्तिको अन्त्य हुनुपर्ने उनको धारणा छ । १६औँ पटकसम्म अनशन बस्नु भनेको प्राडा केसीको शैली जायज नभएको भन्दै अधिकारकर्मी छवि श्रेष्ठ एउटा व्यक्तिको सनकमा विधि र कानूनको शासन नै लत्रिन नहुने बताउछन् ।
अनशनका माग बारम्बार पूरा गर्दै जाने हो भने भोलिका दिनमा अरु थुप्रैले आमरण अनशन बस्ने अवस्था आउने उनी बताउछन् ।
महेन्द्ररत्न बहुमुखी क्याम्पसमा स्नातकोत्तरका विद्यार्थी ईश्वरी तामाङले व्यक्तिगत चर्चा र राजनीतिक अभिष्ट पूरा गर्न प्राडा केसीले अनशन गरिरहनु भएको बताउछन् । ‘शुरु शुरुमा हामी गरीब विद्यार्थी र युवाले शिक्षा र स्वास्थ्यको अधिकारका लागि बोलेको जस्तो लागेर उनको मागलाई समर्थन ग¥यौँ’, तामाङ भन्छन्, ‘तर बुझ्दै जाँदा उनको भित्री नियत अर्कै रहेछ, सरकार र संसद्लाई नै घेराबन्दी गर्ने देशी विदेशी षड्यन्त्रको मोहोरा बनिरहेका छन् ।’
‘देशभित्र पढ्ने कलेज र कोटा नपाएर नेपाली विद्यार्थी वर्षेनी अर्बौं खर्चेर विदेश जानु परिरहेको सत्य आँखै अगाडि छ’, उनी प्राडा केसीको अनशन र माग दुवै नाजायज भएको बताउँदै भन्छन्,’स्वदेशमै शिक्षा र स्वास्थ्य निःशुल्क हुनुपर्छ, प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले बहुमतले पारित गरेको चिकित्सा विधेयक अनशनको बहानामा रोकिनु हुँदैन ।’