कैलाली । कैलालीको गोदावरीमा नेकपा एमाले र नेपाली काँग्रेसका कार्यकर्ताबीच झडप भएको छ ।
गोदावरी- ६ मा गए राति ११ बजेतिर भएको झडपमा एमालेका वडा अध्यक्ष उम्मेदवार जग्गुराम चौधरीका भाइ बिन्तीराम चौधरी घाइते भएका छन् ।
उनको पाखुरामा धारिलो हतियार प्रहारबाट गहिरो चोट लागेको छ । बिन्तीकी श्रीमती पनि घाइते रहेकी छन् ।
उनीहरुको पद्मा अस्पतालमा उपचार भइरहेको छ । यस्तै अन्य ५ जना सामान्य घाइते भएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक रवीन्द्रराज पाण्डेयले जानकारी दिए ।
यसैबीच नेकपा एमाले गोदावरी नगर कमिटीले गोदावरी- ६ मा भएको झडपका क्रममा एमालेका वडा अध्यक्ष उम्मेदवार चौधरीको घरपरिवारका सदस्यमाथि भएको आक्रमणको भर्त्सना गरेको छ ।
नगर कमिटीका सचिव जीवनकुमार शाहले प्रेस विज्ञप्ति जारी गर्दै घटनाको विरोध गरेको हो ।
‘वैशाख २८ गते काँग्रेसका वडा अध्यक्ष उम्मेदवार जयराज फुलाराको नेतृत्वमा करिब २०९२५ जनाको आपराधिक समूहले एमाले वडा नम्बर ६ का वडा अध्यक्षका उम्मेदवार जग्गुराम चौधरीको घरभित्र पसी ज्यान मार्ने उद्देश्यका साथ खुकुरीलगायतका हातहतियारसहित साङ्घातिक आक्रमण गरिएको छ’, एमालेले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
