काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरी एकडाराका प्रधानाध्यापक रामदिनेश मण्डल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद पासमानले घुस लिएको आरोपमा विशेष अदालतमा मुद्दा दायर भएको छ ।
श्री मावि एकडारामा कार्यरत दुवै जना सेवाग्राहीसँग ५० हजार घुस लिएको आरोपमा १९ जेठमा पक्राउ परेका थिए । उक्त रकम घुस नै भएको अख्तियारले पुष्टि गरेको हो ।
विद्यालयको खेलकुद मैदान स्तरोन्नति गर्ने क्रममा विभिन्न बहानामा काम गर्न नदिएर अध्यक्ष र प्रधानाध्यापकले ५० हजार घुस लिएको आरोप लागेको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास र टङ्गालबाट खटिएको टोलीले ५० हजार घुस लिइसकेपछि पक्राउ परेका आरोपित द्वयलाई कारबाहीको लागि आजै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
पुष्टि भएसँगै निजहरूको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, ०५९ को दफा ३(१) बमोजिमको कसुर भएको हुँदा सोहीअनुसार कायम गर्दै विशेष अदालतमा आरोप पत्र दायर गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्याम भण्डारीले जानकारी दिए ।







