काठमाडौँ । स्थानीय तहमा चुनिएका नवनिर्वाचित पदाधिकारीहरूले करारमा आफ्ना मान्छेलाई राखेको भन्दै कर्मचारीहरू आन्दोलित भएका छन् ।
सुनसरीको इनरुवा नगरपालिकाका करार कर्मचारीहरू गत १० दिन यता निर्वाचित जनप्रतिनिधिले आफ्ना मान्छे बाहेक अरूलाई निकालेको भन्दै आन्दोलन गरेका हुन् ।
कर्मचारीको आन्दोलनका कारण इनरुवा नगरपालिकाको कामकाज १० दिनदेखि ठप्प बनेको छ । करार सेवामा रहेका कर्मचारी कटौतीमा रहेका कर्मचारी आन्दोलनमा उत्रिँदा नगरसहित वडाको कामकाज प्रभावित बनेको छ । कार्य मूल्याङ्कनको आधार देखाउँदै ५७ जना कर्मचारी कटौती गरेको विषयलाई लिएर निष्कासनमा परेका कर्मचारीहरूले आन्दोलन गरिरहेका छन् ।
निष्कासनमा परेका कर्मचारीहरूले राजनैतिक स्वार्थ र पहुँचका आधारमा आफ्ना बाहककालाई हटाइएको आरोप लगाएका छन् ।
नगरपालिकाका मेयर केदार भण्डारीले नगरपालिकालाई त्यति धेरै कर्मचारीको आवश्यकता नपरेकोले हटाएको बताए । उनले नगरपालिकाले आर्थिक भार व्यहोरेर त्यत्तिका मात्रामा कर्मचारी राख्न नसक्ने बताए।
इनरुवा नगरपालिकाले सूचना प्रकाशित गर्दै साउनको १ गतेबाट लागू हुने गरी ५७ जना कर्मचारीको म्याद थप नहुने जनाएको थियो । नगरपालिकाले ५७ जनालाई हटाए पनि करार सेवाकै ७९ जना कर्मचारीको भने म्याद थप गरेको छ ।