काठमाडौँ । काठमाडौँ महानगरले महिला प्रहरीलाई दुर्व्यवहार गरेको आरोप लागेका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेमाथि छानबिन गर्न गठन गरेको समितिको दोस्रो पटक म्याद थप गरेको छ।
छानबिन गर्ने काम अझै पनि जारी रहेकाले थप एक साता म्याद थप गरिएको छानबिन समितिका संयोजक तथा सामाजिक विकास विभागका प्रमुख गोपालप्रसाद पोखरेलले जानकारी दिए।
उनका अनुसार छानबिन गर्दै जाँदा विभिन्न कुराहरू आएको र फेरि त्यस्ता कुराहरूमा अनुसन्धान गर्दा समय लागेको हो।
महानगरले पुस २२ गते दुई साता म्याद थप गरेको थियो। त्यसपछि गत शुक्रबार फेरि एक साता म्याद थप गरेको हो।
महानगरले पुस ८ गते छानबिन समिति गठन गरेको थियो र समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो।
पाण्डेमाथि छानबिन गर्न तीन सदस्यीय समिति गठन गरिएको थियो।
उक्त छानबिन समितिको संयोजकमा गोपालप्रसाद पोखरेल छन् भने न्याय प्रशासन विभागकी सुमित्रा लामिछाने र सहरी योजना आयोगकी उपनिर्देशक कुमारी राई सदस्य छन्।
गङ्गाले आफूलाई दुर्व्यवहार गरेको भन्दै मंसिर ९ गते प्रमुख प्रशासकीय अधिकृत अधिकारी र त्यसको केही समयपछि उपमेयर सुनिता डङ्गोलसमक्ष निवेदन दिएकी थिइन्।
त्यसपछि महानगरपालिकाले मंसिर १९ गते पाण्डेसँग स्पष्टीकरण सोधेको थियो। उनले पुस ५ मामात्रै स्पष्टीकरण बुझाएका थिए।