काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सञ्जालहरूमार्फत समाजमा अराजकता फैलाउने काम भइरहेको बताएका छन् ।
कम्युनिस्ट नेता नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको कार्यक्रममा उनले यस्तो बताएका हुन् । पछिल्लो समय विचार, सिद्धान्त, मूल्य, आदर्शमा विचलन देखिएको उनको दाबी छ ।
गत निर्वाचनमा पनि विचार, सिद्धान्त, मूल्य, मान्यता र आदर्शका एजेण्डा भन्दा मान्छे क्षणिक सेन्टिमेन्टतिर लागेको प्रधानमन्त्रीको भनाइ छ ।
‘भर्खरै गएको निर्वाचनमा पनि विचार, सिद्धान्त, मूल्य, मान्यता र आदर्शका एजेण्डालाई भन्दा मान्छेमा सेन्टिमेण्टलाई, भावनालाई, आवेगलाई अराजकतालाई प्रश्रय दिने प्रवृत्ति बढ्दो देखिन्छ’ उनले भने, ‘यस्तो बेलामा बौद्धिक पक्षबाट बुद्धिजीवीबाट अलि हस्तक्षेप बढ्न जरुरी छ । वैचारिक बहस चलाउन जरुरी छ ।’
प्रधानमन्त्री प्रचण्डले इतिहासको चक्कालाई धकेल्न खोज्ने प्रवृत्ति देखापरेको भन्दै रोक्ने चुनौती आफूसमक्ष रहेको धारणा राखेका छन् ।