काठमाडौँ । कृषि फार्मका लागि सहुलियत अनुदान मिलाइदिने प्रलोभन देखाएर पाँच करोड ८० लाख रुपैयाँ ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका-१३, ताहाँचलका ५२ वर्षीय श्रीकृष्ण महर्जन र ललितपुर महानगरपालिका-१४, नखिपोटका ६० वर्षीय प्रेम नारायण खनाल रहेका छन्। महर्जनलाई तिलक बुढाथोकी नामले समेत चिनिने प्रहरीले जनाएको छ।
जालिम सिंह महतोको जाहेरीका आधारमा पूजा खड्गीसमेत प्रतिवादी रहेको ठगीसम्बन्धी कसुरको अनुसन्धानका क्रममा उनीहरू पक्राउ परेका हुन्।
जाहेरीअनुसार आरोपितहरूले सिंहदरबारस्थित विभिन्न मन्त्रालयका कर्मचारीसँग राम्रो चिनजान रहेको र त्यसकै आधारमा कृषि फार्मका लागि सहुलियत अनुदान सहजै उपलब्ध गराउन सक्ने विश्वास दिलाएका थिए।
सोही आश्वासनमा विभिन्न बहाना बनाई पटकपटक गरी कुल पाँच करोड ८० लाख रुपैयाँ ठगी गरेको आरोप जाहेरीमा लगाइएको छ।
काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर दुवै जनालाई नियन्त्रणमा लिइएको हो। उनीहरूविरुद्ध थप अनुसन्धानका लागि कात्तिक ११ गते अदालतबाट म्याद थप गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटनासम्बन्धी थप अनुसन्धान जारी छ।




