काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका अभियुक्त केशव तुलाधर १५ लाख रुपैयाँ धरौटीमा छुटेका छन् । जिल्ला अदालत काठमाडौँले आइतबार उनलाई धरौटीमा छाड्ने आदेश दिएको हो ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई बुधबार पक्राउ गरेको थियो । जिल्ला न्यायाधीश माधवप्रसाद घिमिरेको इजलाशले थुनछेक बहसपछि उनीसँग १५ लाख धरौटी माग्ने आदेश दिएको हो ।
तुलाधर न्युरोडको देगा बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत हुन् । सो मुद्दाका प्रमुख अभियुक्तमध्ये एक सन्देश शर्मालाई उनले आर्थिक कारोबारमा सघाएका थिए ।
शर्माले विभिन्न व्यक्तिमार्फत महर्जनको सहकारीमार्फत लेनदेन गरेका थिए । अनुसन्धान सुरु भएलगत्तै फरार भएका उनलाई प्रहरीले स्वयम्भूबाट पक्राउ गरेको हो ।
अदालतमा बयानको क्रममा तुलाधरले आर्थिक लेनदेन भएका वेला आफू कोभिड लागेर बिरामी रहेको र त्यति वेला आफ्ना कर्मचारी हरिभक्त महर्जनले आर्थिक कारोबार गरेको बताएका थिए । सोही आधारमा उनको धरौटी खुलेको हो । उनका कर्मचारी हरिभक्त भने यही मुद्दामा पुर्पक्षका लागि कारागारमा छन् ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै संगठित रुपमा भएको ठगी प्रकराण्मा गत १० जेठमा जिल्ला सरकारी वकिल कार्यालयले ३० जना प्रतिवादीविरुद्ध मुद्दा दायर गरेको थियो । जसमध्ये १६ जना थुनामा छन् भने दुई जना धरौटीमा छुटेका थिए ।
मुद्दा दायर गरेकामध्ये ११ जना अझै फरार छन् । यस प्रकरणमा प्रहरीले थप शङ्कित व्यक्तिमाथि दोस्रो चरणमा अनुसन्धान गरिरहेको छ ।