काठमाडौँ । बागमती प्रदेशमै पहिलो पटक मकवानपुरको भीमफेदी गाउँपालिकाद्वारा अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्धता गराइने भएको छ ।
नेपालमा यसरी स्थानीय सरकारले अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरएकामध्ये दोस्रो स्थानीय तह भीमफेदी गाउँपालिका हो । यस गाउँपालिकाको सभाबाट स्वीकृत कार्यक्रम अनौपचारिक तथा स्वरोजगार श्रमिकको भविष्य, सामाजिक सुरक्षा, सहकार्य, योगदान र सहभागिताका लागि गाउँपालिका र योगदानमा आधारित सामाजिक सुरक्षा कोषबीच सम्झौता भएको गाउँपालिकाका अध्यक्ष हिदम लामाले जानकारी दिए ।
गाउँपालिकामा बसोबास गर्ने अनौपचारिक तथा स्वरोजगार श्रमिक कोषमा आबद्ध भएसँगै कोषबाट उपलब्ध हुने सेवासुविधा प्राप्त गर्नेछन् । चालु आर्थिक वर्षमा अनौपचारिक क्षेत्रमा काम गर्ने सय जनालाई यो कार्यक्रममा समेट्ने लक्ष्य राखिएको उनले बताए ।
कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद ज्ञवाली र गाउँपालिकाका अध्यक्ष लामाले सम्झौतापत्रमा बिहीबार हस्ताक्षर गरे ।सरकारले तोकेको पारिश्रमिकलाई आधार मानेर त्यसमा योगदान गर्ने, श्रमिकलाई पारिश्रमिकको नौ दशमलव ३७ प्रतिशत रकम थप गरी कोषमा जम्मा गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमलाल महर्जनले बताए।