काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले छ महिनाभित्र चिकित्सा शिक्षा विधेयक संशोधन गरिने बताएका छन् ।
उनले मुलुक स्वास्थ्य क्षेत्रको सुधारका लागि चिकित्सा शिक्षा विधेयक संशोधन गर्नुपर्ने जरुरी भएको भन्दै छ महिनाभित्र विधेयक संशोधन हुने बताएका हुन् ।
लुम्बिनी प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधबार घोराहीमा आयोजना गरेको स्थानीय तहका प्रमुख, उप प्रमुख, तथा स्वास्थ्य शाखा प्रमुखहरूसँग अन्तर्क्रिया कार्यक्रममा मन्त्री बस्नेतले भने ,‘अहिले धेरै स्वास्थ्य संस्थाहरूमा दरबन्दीसँगै जनशक्ति अभावको समस्या छ । त्यसका लागि चिकित्सा शिक्षा विधेयक संशोधन गरेर अबको ६ महिनाभित्र दरबन्दी थप हुनेछ ।’
विधेयक संशोधनका लागि प्रधानमन्त्री समेत सकारात्मक रहेको उनले बताए । स्वास्थ्य मन्त्री बस्नेतले निजी अस्पतालले १० प्रतिशत बेड पूर्ण निःशुल्क नगरे अस्पतालको नवीकरण नहुने बताए ।
‘निजी अस्पतालहरूले वार्षिक रूपमा दश प्रतिशत बेड निःशुल्क छुट्याएर गरिब तथा विपन्नको उपचार गर्नुपर्छ’, उनले भने, ‘त्यसो नगरे अस्पतालहरूको नवीकरण हुनेछैन ।’
मन्त्री बस्नेतले सरकार आधारभूत स्वास्थ्य सेवा निःशुल्क गर्ने अभियानमा रहेको भन्दै सरकारको अभियानलाई सहयोग गर्न निजी अस्पताललाई आग्रह गर्ने बताए ।







