काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कानून निर्माणमा आफ्नो पार्टी प्रतिपक्षको भूमिकामा नरहने बताएका छन् ।
शनिबार ललितपुरमा आयोजित विद्युत विधेयकसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले राष्ट्रिय हितलाई केन्द्रमा राखेर कानून निर्माण गर्नुपर्ने भएकाले आफूहरु प्रतिपक्षको भूमिकामा प्रस्तुत नहुने बताएका हुन्।
अध्यक्ष ओलीले विद्युत विधेयक २०८० लाई राष्ट्रिय हितमा हुने गरी संसदबाट पारित गराउन आफ्नो पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताए।
उनले दलीय आधारमा संसदमा सो विधेयकबारे छलफल भए पनि त्यसलाई राष्ट्रिय हित अनुकूल हुने गरी पारित गराउन आफ्नो पार्टीले रचनात्मक भूमिका निर्वाह गर्ने बताए।
उनले भने, ‘हामी संसदमा विद्युत विधेयकका विषयमा राम्रो छलफल गर्छौँ। यो हाम्रो भूमिका भनेको प्रतिपक्षीय भुमिकाको कुरा होइन। हाम्रो भूमिका प्रतिपक्षको भूमिका होइन। राष्ट्रिय भूमिका हुन्छ।’







