काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भूकम्प प्रभावित जिल्लाका स्थानीय तहका कर्मचारीलाई बिदामा नबस्न निर्देशन दिएको छ । मन्त्रालयले विज्ञप्ति निकालेर भूकम्प प्रभावित जिल्लाका स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत तथा अन्य कर्मचारीहरू बिदामा भएमा यथाशीघ्र आफ्नो कार्यालयमा हाजिर भई कामकाजमा खटिन र तत्काल बिदामा नरहन निर्देशन दिएको हो ।
‘भूकम्पबाट मृत्यु भएका नागरिकहरूको खोजी एवं घाइतेहरूलाई उद्धार गर्ने कार्य भइरहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘मृतक व्यक्तिहरूको खोजी तथा पहिचान, घाइतेहरूको राहत तथा उद्धार, स्वास्थ्य उपचार सहित अन्य सबै पक्षहरूको व्यवस्थापनमा प्रत्यक्ष एवं अप्रत्यक्ष सघाउ पुर्याउन अग्रसरता देखाई कार्य प्रवाह गर्न गराउनु हुन प्रभावित जिल्लाका सबै स्थानीय निकायहरू एवं स्थानीय निकायका पदाधिकारी तथा कर्मचारीहरूमा हार्दिक अनुरोध छ ।’
