काठमाडौँ । पोखरा आएका नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गण्डकी प्रदेश संसदीय दलका नेता पञ्चराम गुरुङसँग भेटवार्ता गरेका छन् ।
कास्कीमा निर्वाचित कमिटीको शपथ ग्रहणमा पोखरा आएका उनले शुक्रबार बिहान राप्रपा गण्डकीका अध्यक्षसमेत रहेका गुरुङसँग वान टु वान कुराकानी गरेका हुन् ।
उनले एमाले गण्डकी संसदीय दलका नेता खगराज अधिकारीसँग पनि पोखरास्थित माउन्ट अन्नपूर्णमा कुराकानी गरेका थिए । गण्डकीमा गठबन्धनलाई सरकार बनाउन दुई सांसद रहेको राप्रपा निर्णायक छ ।
भेटमा ओलीले सरकार गठन गर्न एमालेलाई साथ दिन राप्रपा गण्डकी अध्यक्ष गुरुङलाई आग्रह गरेका थिए ।
राप्रपाले एमालेलाई साथ दिन सकारात्मक रहेको एमाले स्रोतले जनाएको छ ।
राप्रपा गण्डकीका संसदीय दलका नेता गुरुङले चैत २७ अघि कुनै निर्णय नलिने अडान कायमै रहेको बताए । भेटमा उनले सरकारमा जाने-नजानेबारे आफ्नो एकल निर्णयले नहुने सुनाए ।