नारायणगढ । कालिका नगरपालिकाले एकल, दलित र विपन्न वर्गका महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले नि:शुल्क सवारी चालक तालिम सञ्चालन गरेको छ । पालिकाले महिला तथा बालबालिका कार्यक्रमअन्तर्गत तालिम सञ्चालन गरेको हो ।
त्यस अवसरमा कालिकाका नगर प्रमुख विनोद रेग्मीले सवारी चालक (ड्राइभिङ) तालिमले महिलाहरूलाई स्वदेश तथा विदेशमा जहाँ गए पनि व्यावासयीक तथा स्वरोजगार बन्न सहयोग पुग्ने बताए । उनले भने, “सीप भएका मानिसलाई कामको दुःख छैन । ”
कालिका-४ पदमपुरस्थित शहिद स्मृति क्याम्पसचौरमा पालिकाका ७० जना महिलालाई बिहीबारदेखि पन्ध्र दिने निःशुल्क हलुका चार पाङ्ग्रे सवारी साधन चालक तालिम आयोजना गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत चूडामणि गौतमले जानकारी दिए । व्यावसायिक चालक बन्न प्रेरित गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको उनले बताए ।







