काठमाडौँ । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले नागरिकतासम्बन्धी कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई भेटेका छन्। धनुषा पुगेर बिहीबार निधिले सिरोहियालाई भेटेका हुन्।
जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा रहेका सिरोहियालाई भेटेर फर्किएपछि निधिले सिरोहियालाई प्रतिशोधपूर्ण तरिकाले सरकारले गिरफ्तार गरी अनावश्यक दुःख दिएको बताए।
‘काँग्रेसको तर्फबाट, जनकपुरबासीको तर्फबाट म उहाँलाई भेट्न आएको हुँ। उहाँविरुद्ध लगाइएको आरोप निराधार र त्रुटिपूर्ण हो। हामी उहाँको साथमा छौँ। सरकारले तुरुन्त उहाँलाई रिहा गनुपर्छ,’ निधिले भने, ‘सञ्चार क्षेत्रमा उहाँको योगदान छँदैछ। लोकतान्त्रिक आन्दोलनमा पनि उहाँको योगदान छ।’
निधिले सिरोहियाको घर आफ्नो घर सामुन्ने रहेको पनि बताए। सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेविरुद्ध काँग्रेसले सदन र सडक दुवै ठाउँमा विरोध जारी राख्ने उनले बताए। ‘सरकारले सदन बन्द गरिदिएको छ, अब हामी सडकमा विरोध गर्छौँ,’ उनले भने।