वीरगञ्ज (पर्सा) । वीरगञ्जको नारायणी अस्पताल प्रशासनले अस्पतालमा शय्याअनुसार कर्मचारी दरबन्दी वृद्धि गर्न स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवसँग अनुरोध गरेका छन् ।
आज अस्पताल अनुगमन तथा निरीक्षणका लागि पुगेका मन्त्री यादवलाई नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. एनामुल हकले शय्या सङ्ख्या तीन सय ५० भए पनि कर्मचारी दरबन्दी एक सय शय्या बराबरको हुँदा उपचार सेवा प्रदानमा कठिनाइ भएको गुनासो गरे ।
“अस्पताल तीन सय ५० शय्यामा स्तरोन्नति भएको बर्सौँ बितिसक्दा पनि कर्मचारी दरबन्दी एक सय शय्याअनुसार नै छ”, उनले भने, “जनशक्ति अभावका कारण अपेक्षित सेवा प्रवाह गर्न सकिरहेका छैनौँ । शय्याअनुसार दरबन्दी कायम गर्न जरुरी छ । अर्कोतर्फ क्वाटर, मेसिनरी र अन्य पूर्वाधारको उस्तै जटिल छ ।”
मेसु हकले अस्पतालसँग सम्बन्धित विवाद लामो समयदेखि सर्वोच्च अदालतमा विचाराधीन रहेकाले पनि विभिन्न खालका उल्झन आइरहेको गुनासो गरे । “अस्पताल भवन जीर्ण हुँदा बिरामीको उपचारमा समस्या आउने गरेको छ”, उनले भने ।
मन्त्री यादवले मधेस प्रदेशकै प्रमुख स्वास्थ्य केन्द्रको रूपमा रहेको नारायणी अस्पताललाई व्यवस्थित बनाउने प्रतिबद्धता जनाए । “विद्यमान समस्याको सूची तयार पारेर मन्त्रालयमा पेस गर्न मेसु साबलाई अनुरोध गर्दछु”, उनले भने, “समस्याको सूचीसँगै अस्पतालको तत्कालीन, मध्यकालीन र दीर्घकालीन समस्या समाधानका उपायसहितको प्रतिवेदन पनि मन्त्रालयमा ल्याउन आग्रह गर्दछु ।”
मन्त्री यादवले अस्पतालका लागि आवश्यक बजेट तथा स्रोत व्यवस्थापनको जिम्मेवारी आफ्नो भएको बताए । “मैले समग्र देशकै स्वास्थ्य क्षेत्र सुधार ल्याउने गरी काम थालिसकेको छु”, उनले भने, “त्यसैको सिलसिलामा पूर्वस्वास्थ्यमन्त्री तथा विज्ञहरूलाई भेटेर आवश्यक रायसुझाव पनि लिएको छु ।’’ उहाँले नारायणी अस्पतालको ओपिडी, फार्मेसी, पोस्टअप, ल्याबलगायत अनुगमन गर्दै बिरामी तथा कुरुवासँग कुराकानी गरेका थिए ।
अस्पतालमा उपचाररत बिरामीले अस्पतालको फार्मेसीमा पर्याप्त औषधि नभएको, ओपिडी टिकट काट्ने काउन्टरमा भीडभाड रहेको, र चिकित्सकले ओपिडीमा पर्याप्त समय नदिएकोलगायतका गुनासो मन्त्री सक्षम राखेका थिए ।
मन्त्री यादवले बिरामीले राखेका गुनासा तुरुन्तै सम्बोधन गर्न मेसु हकलाई निर्देशन दिएका छन् । मन्त्री यादवले अदालतमा विचाराधीन अस्पताल भवन निर्माणको मुद्दालाई ‘फास्ट ट्रयाक’मा सम्बोधन गर्न आवश्यक पहलकदमी गर्ने प्रतिबद्धता व्यक्त गरे ।
वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले नारायणी अस्पतालको स्तरोन्नतिलाई मुख्य एजेन्डा बनाउन मन्त्री यादवलाई अनुरोध गरे । “कर्मचारी क्वाटर निर्माणका लागि जग्गा उपलब्ध गराउने घोषणा गर्छु”, उनले भने, “मन्त्रीज्यूले बजेटको सुनिश्चितता गर्नुहोस्, क्वाटर र अन्य पूर्वाधारका लागि जग्गा महानगरपालिकाले जोहो गर्नेछ ।”