काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले चाडपर्वको अवसरमा विभिन्न प्रकारका अपराधहरू हुन सक्ने सुरक्षा योजना बनाएको छ । परिसरका एसएसपी वसन्त रजौरेसहितको टोलीले शुक्रवार चाडपर्व लक्षित योजना बनाएर सार्वजनिक गरेको छ ।
प्रहरीले हुनसक्ने सम्भावित अपराधहरूमा लुटपाट तथा कुटपिट, चोरी तथा स्न्याचिङ, डकैती, सवारी दुर्घटना, तस्करी, जुवातास, अवैध मदिरा बिक्री वितरण, मदिरा सेवन गरी झैझगडा, ट्राफिक नियम उल्लंघन, आगजनी तथा विस्फोटन, ड्रिंक एन्ड ड्राइभ, हिट एण्ड रन, चिट्ठाको प्रलोभनमा ठगी, कृत्रिम अभाव तथा कालोबजारी, नाका स्टेसनमा बाहिरिनेको चापमा हुने अवैध धन्दा, महँगो भाडा असुली, मदिराका कारण हुने अपराध, धार्मिक तथा किनमेल स्थलमा हुने पाकेटमारी र बन्द पसल तथा खाली घरहरूमा हुने चोरीलाई प्रहरीले सम्भावित अपराध मानेको छ ।
परिसरका प्रवक्ता नवराज अधिकारीले अनुसार यी सम्भावित अपराधलाई रोक्न तथा न्यूनीकरण गर्न १४ वटा एरियामा डिएसपीको कमान्डमा १० जनाको टोली परिचालन, २ रुटमा लङ रेन्ज गस्ती, ४२ रुटमा सर्ट रेन्ज गस्ती गरिने छ ।
त्यस्तै ७६ वटा क्युआरटी गस्ती, २४ वटा मोबाइल गस्तीको पनि व्यवस्था गरिएको प्रहरीले जनाएको छ । सूचना संकलनको रूपमा सादा पोसाकको रूपमा ३८ वटा टोली बनाएर परिचालन गरिने प्रहरीले जनाएको छ । सिल एण्ड सर्च र कर्डन सर्चको रूपमा २८ टोली खटाइने छ । २२ ठाउँमा एम्बुसिङ चेकिङ गर्ने प्रहरीको तयारी छ ।
नाकाहरूमा हरेक दिन कुकुर पनि परिचालन गरिने, पर्चा पम्प्लेटमार्फत जनचेतना गर्ने प्रहरीको तयारी छ । कलंकी, बल्खु सून्धारा, पुरानो बसपार्क, गोङ्गबु, नयाँ बसपार्क, चाबहिल, कोटेश्वर, हल चोकलगायत १२ स्थानमा यात्रु सहायता कक्ष खडा गरिने प्रवक्ता अधिकारीले बताए । त्यसै गरी ड्रोन क्यामेरामार्फत पनि सर्भिलेन्स गरेर निगरानी गरिने प्रहरीले जनाएको छ ।

