काठमाडौँ । सभामुख देवराज घिमिरेले संघीय संसद्लाई प्रभावकारी र थप जिम्मेवार बनाउन सबै पक्ष एकजुट भएर लाग्नुपर्ने खाँचो औँल्याएका छन् ।
संघीय संसद् सेवा दिवसका अवसरमा संसद् सचिवालयले आइतबार सिंहदरवारमा आयोजना गरेको ‘संघीय संसद्को प्रभावकारितामा संसद् सेवाको भूमिका’ विषयक अन्तरक्रियामा सभामुख घिमिरेले संसद्लाई प्रभावकारी बनाउन सामूहिक प्रयत्न जरुरी रहेको भन्दै आपसी सहकार्य र समन्वयबाट कार्यसम्पादन गर्नुपर्नेमा जोड दिए । उनले समयसापेक्ष संसदीय सेवालाई प्रभावकारी पार्ने र संसद्को महत्वलाई बढाउन नयाँ ढङ्गले कानुनी व्यवस्था गरेर जानुपर्नेमा बताए ।
“संघीय संसद्लाई प्रभावकारी हामी सबैले आआफ्नो भूमिकालाई प्रभावकारी बनाउँदै एकता र समन्वयबाट अघि बढ्नुपर्छ”, सभामुख घिमिरेले भने, “कानुन निर्माण र संसद् सचिवालयले आवश्यक सहजीकरण गरेर यसको गरिमा र महत्वलाई प्रभावकारी बनाउँदै जानुपर्छ ।” सङ्घीय संसद्लाई कसरी प्रभावकारी बनाउन सकिन्छ, यसबारे मार्ग निर्देश गर्न सकेका अवस्थामा दिवसको सान्दर्भिकता अझ बढ्ने उनको भनाइ छ ।
सभामुख घिमिरेले संसद् सचिवालयले दिने सेवा सुविधाका आधारमा संसद्लाई प्रभावकारी बनाउन सकिने भन्दै यसमा सरोकार भएका सबै जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिए । “छुट्टै सेवाको आवश्यकता परेकाले ऐनको व्यवस्था भएर सोही अनुरूप संसद् सञ्चालन भइरहेको छ । अठार वर्षको सेवाको समीक्षा गरौँ, तुलनात्मक रूपमा प्रगति भएको पाउने छौँ”, उनले भने, “संसदीय अभ्यास र हामीले गरेका उपलब्धि अरु मुलुकको तुलनामा भन्दा पनि नेपालको विगतको तुलनामा हेरिनुपर्छ ।”
सभामुख घिमिरेले राज्यका प्रमुख तीन शक्तिहरू व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाबीचको समन्वय, आपसी सहकार्य र सम्बन्धलाई प्रभावकारी बनाएर लैजानुपर्ने आवश्यकता औँल्याए ।
“कार्यपालिका र व्यवस्थापिकाबीचमा प्रभावकारी समन्वय जरुरी छ”, उनले भने, “कार्यपालिकाले व्यवस्थापिकालाई छल्न खोज्ने, व्यवस्थापिकाले कार्यपालिका विरुद्ध जान खोज्ने प्रवृत्तिले संसद्को काम कारबाही र संसदीय सेवालाई प्रभावकारी बनाउन सक्दैन, त्यसैले यो विषयलाई बहस र छलफल गरेर टुङ्ग्याइनुपर्छ ।” सभामुख घिमिरेले संघीय संसद्को कार्यक्षेत्रलाई प्रदेश स्तरमा विस्तार गर्न पनि बहस पैरवी जरुरी रहेको उल्लेख गरे ।