काठमाडौँ । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले सार्वजनिक बिदा कटौती गर्नुपर्ने बताएका छन् ।
बिहीवार प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले सार्वजनिक बिदा बढी भएका कारण सेवाग्राही नागरिकलाई समस्या भएको बताएका हुन् ।
उनले वर्षमा दुई महिना शनिवार मात्र पर्ने भएकाले सार्वजनिक बिदा कटौती गर्नुपर्ने बताए । प्रदेश र स्थानीय तहहरूले आ-आफ्नै ढंगले बिदा दिने प्रवृत्ति बढेको बताए । उनले कर्मचारीको लागि कार्यालय समयमा खाजा खानको लागि निश्चित समय छुट्याउनुपर्ने बताए । खाजा खाने बहानामा कर्मचारीहरू लामो समयसम्म कार्यालयमा नबस्दा सेवाग्राही मारमा पर्ने गरेको समेत उनले बताए ।
उनले भने, ‘बिदा धेरै भएका कारण पनि जनतालाई प्रभावकारी सेवा दिन सकिरहेको अवस्था छैन । कर्मचारीले काम गर्नुपर्यो कि परेन ? वर्षमा दुई महिना जति त शनिवारकै बिदा पर्छ नि । शनिवारको बिदा कटौती गर्ने विचार होइन । कर्मचारीले जनताका लागि काम गर्ने वातावरण सिर्जना गर्नुपर्यो नि । सेवाको लागि नागरिक कार्यालयमा जाँदा कर्मचारी हुँदैन । खाजा खाने बहानामा कार्यालय बाहिर दिन बिताइदिन्छन् । खाजा खाने समयको लिमिट हुनुपर्यो नि । अर्को कुरा कर्मचारीले आफ्नो पदको ट्याग लगाएर आउनुपर्छ । सचिवले सचिवकै ट्याग लगाएर आउनुपर्छ । भन्सार, मालपोत तथा नापी कार्यालयमा भ्रष्टाचार धेरै हुने ठाउँमा जनता कर्मचारी हो कि बिचौलिया भनेर झुक्किरहेको अवस्था छ । त्यसैले कर्मचारीले आफ्नो ओहोदा अनुसारको कार्ड झुण्डाउने व्यवस्था पनि गरिनुपर्छ ।’
उनले कर्मचारीले ओहोदाअनुसारको परिचय पत्र अनिवार्य रूपमा लगाउने व्यवस्था गर्नुपर्ने बताए ।