काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विश्वविद्यालयभित्रको दलीय प्रभावलाई अन्त्य गर्न जरुरी रहेको बताएकी छिन् ।
शुक्रबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० को छलफलमा बोल्दै मन्त्री भट्टराईले यस्तो बताएकी हुन् ।
विश्वविद्यालयभित्रको दलीय प्रभाव र दबाबलाई अन्त्य गर्ने गरी विधेयक ल्याउनुपर्ने बताउँदै उनले अब विश्वविद्यालय कस्तो हुने ? भन्ने किसिमको निर्धारण हुने गरी विधेयक बनाउनुपर्ने बताइन् ।
‘विश्वविद्यालयभित्र भएको अहिलेको जुन खालको एउटा दलीय प्रभाव छ, त्यो प्रभावलाई, त्यो दबाबलाई अन्त्य गर्ने गरी यो ऐन बनाउने कुरामा सोचौँ,’ उनले भनिन्, ‘किनभने केही न केही ऐनमा व्याख्या गर्यो भने जस्तो हामीले नेपाल विश्वविद्यालयमा शिक्षाविद् भनेको को हो ? भन्ने कुराको परिभाषा गर्यौँ । अहिले हामीलाई शिक्षाविद् खोज्नुपर्यो भने नेपाल विश्वविद्यालयको ऐन हेर्दा पुग्यो । त्यो ऐनमा जे लेखेको छ, त्यसको आधारमा शिक्षाविद्को परिभाषा गर्न सक्छौँ ।’
विश्वविद्यालयभित्रका अराजनीतिक गतिविधिहरूको अन्त्य गर्नुपर्ने गरी ऐन ल्याउनुपर्ने बताउँदै मन्त्री भट्टराईले अहिलेको ड्राफ्टमा नआएको भए पनि समितिले छलफल गरेर अघि बढाउन सक्ने पनि बताइन् ।