गण्डकी । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका नेता तथा कार्यकर्ता एकताबद्ध भएर क्रियाशील हुन आग्रह गरेका छन् ।
काँग्रेस पोखरा महानगर कार्यसमितिको तेस्रो सम्मेलनको आज पोखरामा उद्घाटन गर्दै उनले आगामी निर्वाचनमा पार्टीले बहुमत ल्याउने गरी पार्टी संगठन निर्माणमा हालैदेखि क्रियाशील बन्न सबैलाई आग्रह गरेका छन् ।
सभापति देउवाले पर्यटकीय नगरी पोखरामा स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण बढी हुने भएकाले यहाँको सुन्दरतालाई जोगाई राख्नुपर्नेमा समेत जोड दिए । उनले पोखरालाई पर्यटकीय राजधानी घोषणासँगै यहाँ आवश्यक पूर्वाधार विकासमा पनि त्यतिकै ध्यान दिन जरुरी रहेको र अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि तत्काल काम गर्नुपर्ने धारणा राखे ।
“पर्यटकीय नगरी पोखरामा आउने पर्यटकले आवश्यक सुविधा प्राप्त गर्नुपर्छ । त्यसका लागि यहाँ रहेको विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गरिनुपर्छ । पोखराको सुन्दरतालाई जोगाउनका साथै यहाँको समग्र विकासका लागि काँग्रेसले नेतृत्वदायी भूमिका खेल्न सक्नुपर्छ”, सभापति देउवाले भने ।
काँग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्यायले पार्टीका नेता तथा कार्यकर्ताले आफूलाई भन्दा पनि पार्टी र राष्ट्रलाई केन्द्रमा राखेर अघि बढ्नुपर्नेमा जोड दिइन् । अर्का सहमहामन्त्री जीवन परियारले पार्टीको महानगर समितिको सभापतिलाई पदेन महाधिवेशन प्रतिनिधिका रूपमा रहने गरी विधानमा व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याए । उनले पार्टीको संगठन बलियो बन्नका लागि तल्लो टोल कार्यसमितिलाई बलियो बनाउनुपर्नेमा जोड दिए।
काँग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीबाट भए गरेका कामलाई सामाजिक सञ्जालको माध्यमबाट जनमानसमा पुर्याउन सकारात्मक भूमिका खेल्न सबैलाई आग्रह गरे । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफू नेतृत्वको सरकारले असल मनसायका साथ जनताको पक्षमा काम गरिहरेको र ती काम प्रचारमा सबैले सहयोग गर्नुपर्ने धारणा राखे ।
नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले पार्टीले स्थापनाकालीन राष्ट्रियता, प्रजातन्त्र र समाजवादका साथै धार्मिक स्वतन्त्रताको आदर्शलाई आत्मसात् गर्दै अघि बढ्नुपर्ने बताए । काँग्रेस पोखरा महानगर सभापति सुरेन्द्रमान बिजुक्छेले महानगर समितिलाई बलियो बनाउनुपर्ने बताए।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरू नैनसिंह महर, गोविन्द भट्टराई, पूर्वमन्त्री यज्ञबहादुर थापालगायतले पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउनका लागि केन्द्रदेखि तल्लो निकायसम्मका नेता तथा कार्यकर्ता आ–आफ्ना स्थानबाट लाग्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा महानगरपालिकाको पूर्वकार्यसमितिका साथै साबिक पोखरा र लेखनाथ नगरसमितिका सभापतिहरूलाई सम्मान गरिएको थियो ।







