काठमाडौँ । नाबालिकालाई वेश्यावृत्तिमा लगाउने कार्यमा संलग्न रहेको अभियोगमा स्पा संचालिका पक्राउ परेकी छन् ।
पक्राउ पर्नेका काठमाडौँ महानगरपालिका-२६ ठमेल सातघुम्तीस्थित हिमालयन नेचुरल स्पाका संचालिका काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका-५ घर भएकी ४१ वर्षीया स्मृति भन्ने रमिला गौतम रहेकी छन् ।
गौतमले उक्त स्पामा पार्लरको काम गराउने भनी आर्थिक प्रलोभनमा पारी स्पामा मसाज गर्नको लागि आउने ग्राहकहरूसँग जबरजस्ती वेश्यावृत्तिको काममा लगाएको भन्ने पीडितको उजुरीको आधारमा मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलबाट खटिएको प्रहरीले शुक्रबार ठमेलबाट पक्राउ गरेको हो ।
उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौँबाट ७ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।