काठमाडौँ । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले दलतन्त्रका कारण गणतन्त्रको विरोध भइरहेको बताएका छन् ।
काठमाडौँमा आयोजित आजपानिकट आम महिला मोर्चा बागमती प्रदेशको भेलालाई सम्बोधन गर्दै उनले लोकतन्त्रको नाममा राज्यको ढुकुटीमा दलहरूले बदमासी गरिरहेको बताए ।
सरकारले नेपालीको टाउकोमा विदेशी ऋणको भार बोकाइरहेकाले सतर्क बन्नुपर्ने उनको आग्रह छ ।
‘गणतन्त्र, लोकतन्त्रको नाममा नेताहरूले लुट मच्चाएका छन् । राज्यको ढुकुटी सिध्याउन लागिसके । सरकारले हरेक नेपालीको टाउकोमा विदेशी ऋणको भार बोकाउने काम गरिरहेको छ । यसकारण कतिपयले गणतन्त्रको पनि विरोध गरेका हुन्,’ उनले भने ।
जनताको सर्वोच्चता सहितको लोकतन्त्र आवश्यक रहेको उनले बताए । उनी भन्छन्, ‘अब जनताले नै हो लोकतन्त्र जोगाउने, अरु कसैले सक्दैन ।’