काठमाडौँ। नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सभामा नेकपा एमालेका प्रमुख सचेतक गोविन्द नेपालीले गरेको नियमापत्ति रेकर्डबाट हटाउन माग गरेको छ ।
बुधबारको प्रदेश सभा बैठकको सुरुमै माओवादी सांसद हरि भण्डारीले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई हटाएको भन्दै विरोध गरेका थिए ।
उनले भनेका थिए, ‘प्रधानमन्त्रीलाई आफ्नो आफन्तलाई बाहिर राखेर कुलमान प्राधिकरणको कुर्चीमा बसिरहेको मन परेको थिएन ।’
उनले बोलेको करिब १ घण्टापछि एमाले प्रमुख सचेतक नेपालीले नियमापत्ति गर्दै ‘प्रधानमन्त्रीको सालो’ भन्ने शब्द संसदको रेकर्डबाट हटाउन माग गरेका थिए ।
तर, उक्त आरोपमा सत्यता नभएको भन्दै माओवादी संसदीय दलले रेकर्डबाट हटाउन माग गरेको हो ।
माओवादी सांसद भण्डारी विरोधस्वरुप कालो चस्मा लगाउँदै संसद्को रोस्टममा बोल्न उभिएका थिए ।
उक्त विषयमा मंगलबार प्रदेश सभा बैठकमा नोकझोक चलेको थियो ।
भण्डारीले मंगलबारै आफूले त्यो शब्द नै उल्लेख नगरेको भन्दै संसदबाटै उभिएर स्पष्टीकरण दिएका थिए । बुधबार पनि आफ्ना सांसदमाथि लगाइएको यस्तो आरोप हटाउन माओवादीले माग गरेको हो ।
‘सम्बन्धित विषयमा मन्त्रीले जवाफ दिएर अर्को विषयमा छलफल चलिरहेको अन्तिम घडीमा करिब १ घण्टापछि नियमापत्ति गर्न मिल्ने कि नमिल्ने ?,’ माओवादी प्रमुख सचेतक कुसुम बुढामगरले भनिन्, ‘दोस्रो, बोल्दै नबोलेको विषयमा हाम्रो माननीयको नामै किटेर आरोपित गरेको विषय झनै गम्भीर छ । यसर्थ नियमापत्ति गर्ने माननीयको भनाइ रेकर्डबाट हटाउन सभामुखसमक्ष हार्दिक अनुरोध गर्दछौँ ।’
मंगलबार नै यो विषयमा छलफल गरेको सभामुख कृष्ण धितालले संसदमा जानकारी गराए । ‘त्यो शब्द नपरेको हामीलाई पनि अनुभूति भयो, हामीले रेकर्ड हेर्यौँ र मैले पहिल्यै सचेत गराइसकेको थिएँ,’ सभामुख धितालले भने, ‘तसर्थ हाम्रो छलफल हिजै टुंगिएको हुनाले आगामी दिनमा सबै माननीय सदस्यज्यूहरूले पक्कै पनि सदनलाई व्यवस्थित गर्नेबारे सोच्नु हुने नै छ । अब यो विषय नउठ्ला जस्तो लाग्छ ।’
मंगलबार अर्का सांसद रेशमबहादुर जुग्जालीले पनि कुलमानलाई हटाइएकोप्रति आपत्ति जनाएका थिए ।
अर्को पटक फेरि आवश्यक परे कार्य व्यवस्था समितिमा छलफल गर्ने गरी कार्यसूची अगाडि बढाउन सभामुख धितालले आग्रह गरेका छन् ।