काठमाडौँ । जिल्ला प्रहरी परिसर, काठमाडौँले मिति २०८१ चैत १५ गते तीनकुने क्षेत्रमा भएको प्रदर्शनका क्रममा एक व्यक्तिको मृत्यु भएको घटनालाई लिएर सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सूचनाप्रति गम्भीर चासो व्यक्त गर्दै पत्रकार सुरेश रजकको नाम जोडेर गलत समाचार नफैलाउन चेतावनी दिएको छ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालद्वारा आयोजित उक्त प्रदर्शन नवराज सुवेदीको संयोजकत्व र दुर्गा प्रसाईँको अगुवाइमा शान्तिपूर्वक गर्न पूर्व अनुमति लिइएको थियो। तर, प्रदर्शनका क्रममा आयोजक र समर्थकहरूले विभिन्न स्थानमा तोडफोड र आगजनी गरेका थिए। तीनकुने स्थित एक घरमा मानिसहरू रहेको अवस्थामा आगजनी गरिएको र सो घटनामा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
उक्त घटनापछि सामाजिक सञ्जालमा “चैत १५ गते मारिएका पत्रकार सुरेश रजकको पोस्टमार्टम रिपोर्टमा उनको शरीरमा गोली भेटिएको छ” जस्ता भ्रामक शीर्षक राखेर गलत सूचना फैलाइएको जनाउँदै प्रहरीले मृतकको पोस्टमार्टम प्रक्रिया समेत सुरु नभइसकेको अवस्थामा यस्ता सूचनाले जनमानसमा भ्रम सिर्जना गरेको भन्दै आपत्ति जनाएको छ।
जिल्ला प्रहरी परिसर, काठमाडौँले उक्त घटनाको सूक्ष्म अनुसन्धान गरिरहेको जनाउँदै पत्रकार सुरेश रजकको नाम जोडेर भ्रामक समाचार सम्प्रेषण गर्ने व्यक्ति वा संस्थालाई प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिएको छ। प्रहरी उपरीक्षक अपिल राज बोहराले वास्तविकता नबुझी गलत सूचना फैलाउनाले समाजमा नकारात्मक सन्देश जाने भएकाले यस्ता गतिविधिबाट टाढा रहन सबैमा अनुरोध गरेका छन्।
