काठमाडौँ । पर्साको वीरगञ्जमा शनिबार दुई समूहबीच भएको झडपपछि उत्पन्न स्थिति नियन्त्रणको प्रयासमा १४५ राउन्ड अश्रुग्याँस र २ राउन्ड हवाई फायर गरेको स्थानीय प्रशासनले जनाएको छ ।
आज वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सो जानकारी दिएका हुन् । सो घटनामा ३३ जना घाइते भएको जानकारी पनि उनले दिएका छन् ।
‘स्थिति नियन्त्रणको क्रममा १४५ राउन्ड अश्रुग्याँस र २ राउन्ड हवाई फायर भएको छ,’ उनले भने, ‘२५ सुरक्षाकर्मी र ८ जना प्रदर्शनकारी गरी ३३ जना घाइते हुनु भएको छ ।’ उनले घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको जानकारी दिए ।
कर्फ्यु आदेश उल्लंघन गर्नेहरू केहीलाई नियन्त्रणमा पनि लिइएको प्रजिअ अर्यालले बताएका छन् ।
दुई समुदायबीच शनिबार दिउँसो झडप भएपछि वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र साँझ ७:३० बजेदेखि आइतबार दिउँसो १२ बजेसम्म कर्फ्यु लगाइएको थियो । स्थिति अझै सामान्य नबनेको निष्कर्षसहित प्रशासनले आज चैत ३१ गते राति १२ बजेसम्म कर्फ्यु जारी राख्ने निर्णय गरेको हो ।
सम्बन्धित समाचार : वीरगन्जमा कर्फ्युको समय बढाइयो