काठमाडौँ । प्रजातन्त्र सेनानी मोतीकुमार श्रेष्ठको ९३ वर्षको उमेरमा उपचारका क्रममा यहाँ निधन भएको छ । तनहुँको व्यास नगरपालिका–२ दमौली निवासी नेपाली काँग्रेसका नेता श्रेष्ठको मंगलबार राति निधन भएको हो ।
विसं २००७ को जनक्रान्तिमा बन्दीपुरमा भएको संघर्षमा उनले अग्रपङ्क्तिमा रहेर काम गरेका थिए । आजै उनको पशुपति आर्यघाटमा दाहसंस्कार गरिने जनाइएको छ ।
यसैबीच, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्र सेनानी श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकाकूल परिवारजनमा हार्दिक समवेदना प्रकट गरेका छन् ।