काठमाडौँ । संघीय निजामती सेवा विधेयकमा नेकपा माओवादी केन्द्रले तीन बुँदे असहमति राखेको छ ।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले असहमति जनाएका हुन् ।
उनले कुलिङ पिरियड अतिरिक्त सचिव र भेटेरिनरीको तहका विषयमा असहमति राखेका हुन् ।
हाल कुलिङ पिरियड एक वर्ष राख्ने गरी विधेयकको प्रतिवेदन तयार भएको छ । यसमा असहमति राख्दै पाण्डेले कुलिङ पिरियड कम्तीमा दुई वर्ष राख्नुपर्ने बताएका छन् ।
यसैगरी सचिव र सहसचिवको संख्या यथावत राखेर अतिरिक्त सचिवको थप पद सिर्जना गर्ने प्रयास भएको भनेर पनि पाण्डेले असहमति राखेका छन् ।
‘अतिरिक्त सचिव राख्न आवश्यक छैन,’ पाण्डेले भने । यदि सचिव र सहसचिवको संख्या घटाउँदाको अवस्थामा भने अतिरिक्त सचिवको विषयमा छलफल गर्न सकिने धारणा छ ।
पाण्डेले भेटेरिनरीमा ८ औँ तह राख्न आवश्यक रहेको बताएका छन् ।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठकबाट आज संघीय निजामती सेवा विधेयक पास गर्ने तयारी छ ।