काठमाडौँ । नेपाल शिक्षक महासंघले स्थानीय तहबाट शिक्षक र कर्मचारीहरूलाई धम्की आएको बताएको छ । महासंघले विज्ञप्ति निकालेर स्थानीय तहबाट सरुवा र राजीनामा गराउने धम्की आएको बताएको हो ।
‘शैक्षिक सडक आन्दोलनमा सहभागी भएका थुप्रै प्रधानाध्यापक, शिक्षक र कर्मचारी साथीलाई धम्काउने, सरुवा गर्ने, राजीनामा दिन दबाब दिने जस्ता कार्य कतिपय स्थानीय तहबाट भएको सूचना आइरहेका छन्,’ महासंघकाअध्यक्ष लक्ष्मी किशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
महासंघले देशभरका शिक्षकलाई काठमाडौं आउन आग्रह गरेको छ । ‘अब दरिलो र अन्तिम धक्का आवश्यक भएको छ । यस निर्णायक घडीमा देशभरका सबै शिक्षक-कर्मचारी साथीहरूलाई काठमाडौँ आउनुहुन आग्रह गर्दछौँ,’ महासंघले भनेको छ ।
शिक्षक र कर्मचारीमैत्री ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले गत चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएका छन् । उनीहरूले चैत २५ गतेदेखि शैक्षिक आमहड्ताल घोषणा समेत गरेका छन् । यसबीचमा शिक्षक र सरकारका प्रतिनिधिबीच सहमतिको प्रयास भए पनि सहमति जुट्न सकेको छैन ।
सरकारी शिक्षकहरूको आन्दोलन निरन्तर जारी भएकाले नयाँ शैक्षिक सत्रको भर्ना अभियान, एसइईको उत्तरपुस्तिका परीक्षण र कक्षा १२ को वार्षिक परीक्षा समेत प्रभावित भएको छ । वैशाख ११ गते हुने भनिएको कक्षा १२ को परीक्षा वैशाख २१ गतेसम्मका लागि स्थगित गरिएको छ ।
आन्दोलनको २६ औँ दिनमा आज शिक्षक र प्रहरीबीच नयाँबानेश्वरमा झडप भएको छ । बिजुलीबजार-नयाँबानेश्वर सडक खण्डमा भेला भएर प्रदर्शनमा उत्रिएका शिक्षकहरुलाई प्रहरीले रोक्न खोज्दा झडप भएको हो ।