काठमाडौँ । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवारभित्र आगामी जेठभित्र मेलम्चीको खानेपानी वितरण गरिने भएको छ ।
सिंहदरवारभित्र रहेका मन्त्रालय, आयोग, निकाय तथा कार्यालयमा आगामी जेठभित्रै मेलम्चीको खानेपानी जडान गरिसक्ने गरी काम सुरु गरिएको खानेपानी मन्त्रालयका सचिव ई प्रमीलादेवी शाक्य बज्राचार्यले जानकारी दिइन्।
उनका अनुसार सिंहदरवारभित्र मेलम्चीको खानेपानी वितरण प्रणाली जोड्न काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) लाई निर्देशन दिइएको र सोहीअनुसार काम भइरहेको छ । खानेपानीमन्त्री प्रदीप यादवले अब सिंहदरवारमा खानेपानीका बोतल र जार निषेध गर्ने घोषणा गरेका थिए । हाल मेलम्चीको पानी वितरण प्रणालीको काम तीव्र रूपमा अगाडि बढेको मन्त्रालयका प्रवक्ता एवं सहसचिव ई मीना श्रेष्ठले बताइन् ।
उनले भनिन्, “सिंहदरवारमा बोतल र जारको पानी निषेध गर्न मन्त्रीले निर्देशन दिनुभएको छ । अब यहाँ मेलम्चीको पानी वितरणका लागि काम तीव्र रूपमा अगाडि बढेको छ ।”
मेलम्ची खानेपानी वितरण प्रणालीबाट पठाइएको पानी ढुक्क भएर पिउन मिल्ने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का कार्यकारी प्रमुख अशोककुमार पौडेलले बताए । उनले भने, “मेलम्चीबाट जोडिएको पानी शुद्ध र पिउन योग्य हुन्छ । अब चाँडै सिंहदरवारमा मेलम्चीको पानी वितरण हुन्छ ।”