गृहमन्त्री लेखकको नेतृत्वमा गृह प्रशासनले यसपालिको मनसुनलाई मध्यनजर गर्दै समयमै विपद् व्यवस्थापन तयारीलाई तीव्रता दिएको छ। यस पटकको तयारी विगतका त्रुटिबाट सिकेर अगाडि बढ्न खोजिएको देखिन्छ।
काठमाडौँ । मनसुन सुरु हुने बेलामा सम्भावित प्राकृतिक विपद्को जोखिमलाई ध्यानमा राख्दै गृहमन्त्री रमेश लेखकले सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवाला निकायहरूलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएका छन्। पछिल्ला दिनहरूमा गृहमन्त्री लेखक स्वयंले विपद् प्रतिकार्य तयारीका विभिन्न पक्षहरूको अनुगमन र समन्वय कार्यलाई तीव्रता दिएका छन्।
गत वर्षको बाढी तथा पहिरोले मुलुकमा ठूलो जनधनको क्षति पुर्याएको सन्दर्भमा यस वर्ष अझ गम्भीर जोखिमको पूर्वानुमान भइरहेका बेला गृह मन्त्रालयले प्रतिकार्य संयन्त्रलाई सक्रिय बनाउने प्रयास थालेको हो।
निरीक्षण, समन्वय र निर्देशन
पछिल्ला तीन दिनमा गृहमन्त्री लेखकले सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी र नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालयमा पुगेर आवश्यक पूर्व तयारीका गतिविधिहरूको अवलोकन गरेका छन्।
निरीक्षणका क्रममा उनले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा जुनसुकै बेला जेसुकै हुन सक्छ भन्ने मानसिकतामा रहन सबैलाई आग्रह गरे। “हामी मनसुनको पूर्वसन्ध्यामा छौँ। अब बाढी र पहिरोको जोखिम बढ्नेछ। त्यसको पूर्व तयारी आजैदेखि गर्नुपर्छ”गृहमन्त्री लेखकले भने।
उनले सशस्त्र प्रहरी मुख्यालयमा विपद् व्यवस्थापनको जिम्मेवारी थप प्रभावकारी बनाउन आवश्यक निर्देशन दिँदै सम्भावित जोखिम क्षेत्रतर्फ समयमै परिचालन र तयारीका लागि सतर्क रहन आग्रह गरे।
भर्चुअल बैठक र प्रदेशगत समन्वय
गृह मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारी (सिडिओ), प्रहरी प्रमुखहरू तथा सशस्त्र प्रहरी बाहिनीपतिहरूसँग भर्चुअल बैठकमार्फत समन्वय बढाएको छ।
बिहीबार बिहान सम्पन्न भर्चुअल बैठकमा मन्त्री लेखकले ७७ वटै जिल्लाका सुरक्षा समितिसँग प्रत्यक्ष संवाद गर्दै विपद् पूर्वतयारबारे जानकारी लिएका थिए।
बैठकमा गृहमन्त्री लेखकले भने, “विगतको जस्तो लापरवाही स्वीकार्य छैन। गुनासो आउने गरी काम गर्ने अधिकारीमाथि कारबाही हुनेछ।”
उनले विपद् पूर्व सूचना प्रणालीलाई प्रभावकारी बनाउने, स्थानीय तह र प्रदेश सरकारसँग समन्वय गर्न र कुनै कमजोरी नदेखिने गरी २४ सै घण्टा तयारी अवस्थामा बस्न सबै निकायलाई निर्देशन दिए।
पूर्व अनुभवको सिकाइ र तयारीको प्राथमिकता
गृह मन्त्रालयले विगतका विपद्का घटनाबाट पाठ सिक्दै प्राविधिक जनशक्ति र उपकरणलाई तयारी अवस्थामा राख्न तथा पूर्व सूचना, उद्धार र व्यवस्थापनका लागि समन्वयात्मक कार्यलाई प्राथमिकतामा राखेको छ।
मन्त्री लेखकले भने, “भूकम्प र आगलागीको पूर्वानुमान हुन्न, तर मनसुनजन्य विपद्को अनुमान गर्न सकिन्छ। त्यसैले हामी समयमै सचेत हुनुपर्छ।”
यस्तै गृहमन्त्री लेखकले विपद् व्यवस्थापन प्रभावकारी बनाउन राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रको शाखा स्थापना गर्नुपर्ने आवश्यकता औँल्याए। उक्त शाखामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका अधिकारीहरू सहभागी भएर तत्काल निर्णय र कार्यान्वयन गर्न सकिने व्यवस्था आवश्यक रहेको उनको भनाइ छ।
सडक सुरक्षामा चेतावनी
मनसुनजन्य विपद्का सम्भावित क्षेत्रहरूमा राति गाडी चलाउन प्रतिबन्ध लगाउने विषयमा गम्भीरता अपनाउनुपर्ने विषयमा पनि गृहमन्त्री लेखकले जोड दिए। “यो वर्ष विगतको भन्दा बढी वर्षा हुने अनुमान छ, त्यसैले सडक तथा पहाडी क्षेत्रको सुरक्षामा विशेष ध्यान दिनुपर्छ,” उनले भने।
गृहमन्त्री लेखकले प्रहरी प्रशासनलाई जनताप्रति संवेदनशील बन्न पनि निर्देशन दिए। “विपद्मा मानिसले सबैभन्दा पहिले प्रहरीलाई खोज्छ। प्रहरीको उपस्थितिप्रति जनताको विश्वास उच्च छ। त्यसलाई निरन्तर सेवामूलक कार्यद्वारा कायम राख्नुपर्छ,” उनले भने।
उनले थपे-“हामीसँग स्रोत सीमित छन् तर पनि प्रभावकारी व्यवस्थापन सम्भव छ। समन्वय र समयमै कार्यान्वयन नै प्रमुख हो।” गृहमन्त्री लेखकको नेतृत्वमा गृह प्रशासनले यसपालिको मनसुनलाई मध्यनजर गर्दै समयमै विपद् व्यवस्थापन तयारीलाई तीव्रता दिएको छ।
यस पटकको तयारी विगतका त्रुटिबाट सिकेर अगाडि बढ्न खोजिएको देखिन्छ। सम्बन्धित सबै निकाय समन्वयमा रहेर अघि बढेमा विपद् व्यवस्थापनमा राज्यको उपस्थिति प्रभावकारी बन्नेछ भन्ने अपेक्षा गरिएको छ।










