काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, एशियाली उत्पादकत्व संगठन (एपीओ) र राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास केन्द्रको संयुक्त आयोजनामा दिगो र समावेशी पर्यटन प्रवर्द्धन सम्बन्धी चारदिने अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न भएको छ।
१४ वटा एपीओ सदस्य देशका १८ जना सरकारी अधिकारी, पर्यटन व्यवसायी, र अभ्यासकर्ताहरू सहभागी कार्यक्रमले दिगोपन, समावेशीता, र सांस्कृतिक संरक्षणलाई प्रोत्साहन गर्ने विषयमा केन्द्रित यो कार्यशालाले दिगो पर्यटनका लागि नवीन नीति र अभ्यासहरूको खाका तयार पारेको जनाइएको छ ।
कार्यशालाले समावेशी पर्यटन मोडेल, जिम्मेवार पर्यटनका लागि डिजिटल प्रविधि, दिगो पर्यटनको प्रमाणीकरण र नीति ढाँचाका विषयमा विशेषज्ञ सत्रहरू सञ्चालन गरेको बताइएको छ । ग्लोबल सस्टेनेबल टुरिजम काउन्सिलकी डा. मिही काङले पर्यटनमा दिगोपन, वातावरणीय र सामाजिक प्रभाव न्यूनीकरण र प्रमाणीकरणका फाइदाहरूबारे अन्तर्राष्ट्रिय उदाहरणसहित प्रस्तुति दिए। प्लानेट एबल्डकी नेहा अरोराले समावेशी पर्यटनमा जोड दिँदै सत्र सञ्चालन गरिन्। नेपालका विज्ञ सुदिप भाजु र पंकज प्रधानांगले नेपालको पर्यटन सम्भावनाबारे जानकारी गराए। कार्यशालाको अन्तरक्रियात्मक शैलीले सहभागीहरूबीच अनुभव आदानप्रदान र सिकाइलाई प्रोत्साहित गरेको थियो ।

यसै सन्दर्भमा, सहभागीहरूले युनेस्को विश्व सम्पदा स्थल पाटन दरबार स्क्वायरको भ्रमण गरेका छन्, जहाँ स्थानीय समुदायको संलग्नतामार्फत सांस्कृतिक संरक्षण र पर्यटन विकासलाई सन्तुलनमा राख्ने प्रयासहरू अवलोकन गरे।
कार्यशालाको समापनमा सहभागीहरूले सिकेका कुरालाई कार्यान्वयनयोग्य र दिगो रणनीतिमा बदल्ने प्रतिबद्धता जनाएका छन्। यो कार्यक्रमले वातावरणीय रूपमा जिम्मेवार, सामाजिक रूपमा समावेशी र आर्थिक रूपमा लचिलो पर्यटन क्षेत्रको विकासमा एशिया-प्रशान्त देशहरूलाई सहयोग पुर्याउने लक्ष्य राखेको छ । सन् २००९ पछि पहिलो पटक नेपालले आयोजना गरेको यो एपीओ कार्यशालाको सफलताले भविष्यमा यस्ता कार्यक्रमहरू सञ्चालन गर्न आयोजकहरूलाई प्रेरणा दिएको छ।







