काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले जथाभाबी ड्रेस लगाएर संसद् भवन प्रवेश गरेको भन्दै सत्तारुढ दल नेपाली काँग्रेसले कारबाही गर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका छन् ।
सोमबार प्रतिनिधि सभा बैठकमा निलो रिबन लगाएर प्रवेश गरेका रास्वपा सांसदहरूलाई चेतावनी र संसद्ंबाट निष्कासन समेत हुनसक्ने नियमावली सम्झाउँदै काँग्रेस प्रमुख सचेतक श्याम घिमिरेले ध्यानाकर्षण गराएका हुन् ।
‘यो संसद्मा मर्यादित पोसाकमा आउनुपर्छ भनिएको छ । यो नियमावलीमा गरिएको व्यवस्था हो । यो संसद्मा केही माननीय सदस्यले जुन स्कार्फ लगाउँदै आउनुभएको छ, यो मर्यादित पोसाकभित्र पर्छ कि पर्दैन ?,’ घिमिरेले भनेका छन् ।
उनले यस्ता ड्रेसलाई संसद्को मर्यादाभित्र पर्ने वा नपर्ने भन्दै सभामुख घिमिरेलाई प्रश्न गरे ।
‘यसरी भोलि कोही हाफ पाइन्ट मात्रै लगाएर आउने, भोलि जथाभाबी ड्रेस लगाएर आउने हो भने त्यसलाई संसद्को मर्यादाभित्र राख्ने कि नराख्ने ?,’ उनले भनेका छन्, ‘यस्तो किसिमको व्यवहार गर्ने माननीय सदस्यले सभामुखले चेतावनी र संसद्बाट निष्कासन गर्ने कारबाही पनि आवश्यक छ भन्ने म ध्यानाकर्षण गर्न चाहन्छु ।’







