काठमाडौँ । नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्यालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन सेवालाई सरलीकृत र प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गृह, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, परराष्ट्र र सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका सचिवहरू, विभागीय प्रमुखहरू र सम्बन्धित पदाधिकारीहरूसमेत सहभागी समन्वय बैठकमा मुख्यसचिव अर्यालले सो निर्देशन दिएका हुन् ।
मुख्य सचिव अर्यालले अध्यागमन सेवालाई व्यवस्थित बनाउन पासपोर्ट, राष्ट्रिय परिचयपत्र, वैदेशिक रोजगार विभागको प्रणाली, र अध्यागमन सेवा प्रणाली (नेपाल पोर्ट) लाई तत्काल अन्तरआवद्ध गर्न निर्देशन दिएका हुन् । उनले सात दिनभित्र भिजिट भिसामा जाने यात्रुहरूको भिसा अभिलेखीकरण र पासपोर्ट रोक्कासम्बन्धी सूचना राहदानी विभाग र नेपाल प्रहरीबीच आदानप्रदानको व्यवस्था गर्न जोड दिए।
सरकारी सूचना प्रणालीहरूबीच अन्तरआवद्धताको ढाँचा तयार गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सूचना प्रविधि सहसचिवको नेतृत्वमा कार्यदल गठन गरिएको छ। उक्त कार्यदललाई एक महिनाभित्र ढाँचा विकास गर्न निर्देशन दिइएको छ। प्रधानमन्त्रीका सूचना प्रविधि सल्लाहकार असगर अलीले यो प्रक्रियाको समन्वय गर्ने भनिएको छ ।
बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवहरू र सम्बन्धित महाशाखा प्रमुखहरू उपस्थित थिए।








