काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले संघीय निजामती विधेयकलाई तत्काल संसदको कार्यसूचीमा राखेर पारित गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रमुख सचेतक पाण्डेले यो बहुप्रतीक्षित विधेयक २०८० फागुन २१ गते संसदमा दर्ता भएको, २०८० चैत २१ गते सैद्धान्तिक छलफल भएको, २०८१ जेठ १५ गते राज्य व्यवस्था तथा सुशासन समितिमा पठाइएको र २०८२ असार १ गते सदनमा पेश भएको जानकारी दिए। तर, असार ३ गते कार्यसूचीमा राखिएको विधेयक सोही दिन हटाइएको र संघीय संसद् सचिवालयको पछिल्लो पाक्षिक कार्यतालिकामा समावेश नभएकोमा उनले आपत्ति जनाए।
“संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवा सर्त व्यवस्थापनका लागि यो विधेयक महत्त्वपूर्ण छ। यसलाई उपसमिति, समिति हुँदै सदनमा ल्याइसकिएको छ,” पाण्डेले भने, “निजामती सेवा विधेयकसँगै शिक्षा र नागरिकता विधेयकलाई पनि तत्काल कार्यसूचीमा राखेर अघि बढाउन सरकारको ध्यानाकर्षण गराउँछु।”
पाण्डेले विधेयकलाई संसदको कार्यसूचीमा समावेश गरी छिटो पारित गर्न माग गरेका छन्।







