काठमाडौँ । एमाले संसदीय दलकी सचेतक सुनिता बरालले विदेशमा कार्यरत नेपाली श्रमिकलाई आपतकालीन अवस्थामा उद्धारका लागि ‘र्यापिड एक्सन टिम’ बनाउन जरुरी देखिएको बताएकी छन् ।
शनिवारको प्रतिनिधि सभाको बैठकमा उनले आगामी आर्थिक वर्ष ०८२/०८३ का लागि विनियोजित बजेटमाथिको छलफलमा सहभागी हुँदै परराष्ट्र मन्त्रालयमा त्यससम्बन्धी छुट्टै डेस्क स्थापना गर्न सुझाव दिइन् । आम नागरिकको सिधै पहुँच विदेशस्थित नेपाली नियोगहरूसँग नहुने भएकाले मन्त्रालयमै स्थायी संरचना बनाउनुपर्ने उनको भनाइ थियो
‘विभिन्न देशमा हरेका नेपाली वर्कर (श्रमिक) हरुलाई आपत् परेका बेला उद्धार गर्न परराष्ट्र मन्त्रालयमै र्यापिड एक्सन टिम बनाउन जरुरी छ’, बरालले भनिन्, ‘एउटा सामान्य नागरिकका लागि नेपाल बाहिरका नियोगहरूमा सिधै सम्पर्क गर्ने कुरा पनि असम्भव रहेको छ । ‘र्यापिड एक्सन टिम’ बनाउने र त्यसले असहजताको अवस्थामा नेपालीलाई सहजीकरण गरेर उद्धार गर्ने कुरामा मन्त्रीज्यूको ध्यानाकर्षण गराउन चाहन्छु ।’
परराष्ट्र मन्त्रालयले मुलुकको पहिचान प्रतिबिम्बित गर्ने भन्दै उनले मन्त्रालयको संस्थागत मेमोरी र सूचना संयन्त्र कमजोर रहेको बताइन् ।







