(आजको डिजिटल संसारमा सन्देश पुर्याउनु र प्राप्त गर्नु तत्काल र सहज छ। एक क्लिक टाढा, कागजको आवश्यकता छैन, पर्खाइ छैन, अनुष्ठान छैन। तर, सुविधा प्राप्त गर्दा हामीले सायद गहिराइ गुमायौं। – मीनबहादुर विष्ट)
जन्मेको ठाउँ जहाँ प्रकृतिले शब्द फुराउँथ्यो
बाल्यकालमा गरेका कामको सम्झना झन् ताजा भएर आइरहेको छ। जन्मे-हुर्केको जिल्ला स्याङ्जा सुगमै भनेर चिनिने भए तापनि हाम्रो घर भने अलि अप्ठ्यारो ठाउँमा छ। हिउँदमा नौ नबजी घाम लाग्दैन। बेलुकी पनि चाँडै नै अस्ताउँछ। उत्तरतर्फ फर्केको भिरालो ठाउँ छ। खोलामा पानी प्रशस्त भए तापनि अहिले जस्तो पाइपबाट घरघरमा पुर्याउने चलन विकसित भएको थिएन। परिवारलाई मात्र होइन, भैंसीलाई समेत पानी बोकेरै खुवाउने चलन थियो। गाई र बाख्रा बनतिर चराउन लगिन्थ्यो। ठाउँ भिरालो भएकाले भैंसी चराउन लग्ने चलन थिएन। बा-आमाले भैंसी चराउन लगे लडेर मरिहाल्छ भनेको राम्रोसँग याद छ। पानी बोक्ने काम आमाको नै हो जस्तो लाग्थ्यो। बिहान आमा कुन बेला उठ्नुहुन्थ्यो, मलाई सम्झना छैन। हामी उठ्दासम्म आमाले खोलाबाट कैयौँ खेप पानी ल्याएर भैंसीको कुँडो-पानीको धन्दा सकिसक्नुभएको हुन्थ्यो। कुखुरो बास्दा उठ्छु भनेको याद छ। सायद त्यो तीन बजेतिर हुनुपर्दछ। सधैं त्यही बेलामा उठ्न कसरी सम्भव भयो, मेरो सोचाइले भ्याउँदैन। हामी अहिले घडी र मोबाइल हेरेर पनि नभएर अलार्म लगाउँछौँ। कहिलेकाहीँ त “कस्तो निद्रा लागेछ, अलार्म बजेको पनि थाहा नै पाइएन” भन्छौँ। तर आमाका लागि अलार्म बजेको थाहा नपाउने दिन कहिल्यै भएन रे।
धान कुट्ने ढिँकी र पिस्नका लागि जाँतो थियो। ती काम सबैभन्दा कठिन जस्तो लाग्दथ्यो। तर हामी छोरा मान्छेले कहिलेकाहीँ अपवादमा मात्र कुट्ने र पिस्ने काममा संलग्न हुने गर्थ्यौँ। त्यसमा भाउजूहरूले र बहिनीले आमालाई सघाउनुहुन्थ्यो। कहिलेकाहीँ दिदीहरू आउँदा त्यस्ता कामहरूमा संलग्न हुनुहुन्थ्यो। आमालाई दमको रोग थियो। अलि दम बढ्यो भने भित्रैदेखि डर लाग्थ्यो। आमा नभए त खानै पाइँदैन कि भन्ने लाग्थ्यो।
दुई भञ्ज्याङहरूको बीचको खोँचबाट अलि तल हाम्रो बसाइ थियो। गाउँ थिएन, घरहरू छुट्टाछुट्टै थिए। खोलाका वरिपरि चार घर बाहुनहरूका थिए। माथिमाथि डाँडामा सबै गुरुङहरूको बस्ती थियो। ती बस्तीहरू भने एकै ठाउँमा गाउँको रूपमा थिए। कतिपय ती गाउँका बस्तीहरू अहिले पनि उस्तै छन्। तर छरिएका बस्ती भताभुङ्ग भएका छन्। गुरुङ जातिका केटाहरूको लक्ष्य नै लाहुरे हुने थियो। सामान्यतः उनीहरूको पढ्नमा लगाव हुँदैनथ्यो। उनीहरू गीत गाउन, बजाउन र खेल्न सिपालु हुन्थे। उनीहरूमा अरूसँग कुरा गर्ने र समस्यासँग सामना गर्ने आत्मबल निकै उच्च छ जस्तो लाग्दथ्यो। हामीलाई भने खेल्ने, नाच्ने, बजाउने र गाउने कुरामा बन्देज नै जस्तो थियो। मानौँ ती काम गर्ने भनेको नपढ्ने मानिसले मात्र हो भन्ने मान्यता अमूर्त रूपमा स्थापित भएको थियो।
घरमा २० वटा जति गाई, त्यस्तै २० वटा जति बाख्रा र ६-७ वटा भैंसी हुन्थे। त्यो संख्यामा थोरैमात्र तलमाथि हुन्थ्यो; सामान्यतः उस्तै हुन्थ्यो। बा-आमाले त्यति नै संख्यामा ती पशुहरूको सन्तुलन कसरी मिलाउनुहुन्थ्यो, मलाई अहिलेसम्म पनि हेक्का छैन। हाम्रो काम बिहान एक छिन पढ्ने, एक भारी घाँस काट्ने, अनि खाना खाएर स्कूल जाने, बेलुकी स्कूलबाट फर्किएपछि फेरि एक भारी घाँस काट्नुपर्ने हुन्थ्यो। वर्षाको बेलामा बन्सो घाँस काट्ने, हिउँदमा भने रुखको डाले घाँस काटिन्थ्यो। घाम-पानी जे भए पनि ती काम अनिवार्य नै थिए।
ती कामहरू एकपछि अर्को सहजै गरिन्थ्यो। एउटा कामले अर्कोलाई ताजगी (रिफ्रेश) गराए जस्तो। रहरै-रहरमा काम सम्पन्न हुन्थ्यो। एक जना गाई हेर्ने र एक जना बाख्रा हेर्ने गोठालो चाहिन्थ्यो। हामी प्रायः सबै स्कूल जाने हुँदा बिदाका दिनबाहेक त्यो गोठालाको काम कसरी व्यवस्थापन भएको थियो, अहिले मलाई अचम्म लाग्छ। सायद कहिले कसको बिदा, कहिले कसको बिदा हुन्थ्यो होला। त्यो तादम्यता नमिलेमा पालो गरेर बिदा लिइन्थ्यो होला। बिदा लिन विद्यालयमा कक्षा शिक्षकलाई सम्बोधन गरेर चिठी लेख्नुपर्ने हुन्थ्यो। चिठी लेख्दा के कारणले बिदा बस्न परेको हो, खुलाउनुपर्थ्यो। जे कामका लागि बिदा लिन परेको हो, त्यही लेख्नुपर्थ्यो। त्यतिबेला कागजको अभावले बिग्रिएको पाना च्यातेर अर्को लेख्ने छुट हुँदैनथ्यो। तर धेरै सोचविचार गरेर कागजमा लेखिएका अक्षर-भावनाहरू मौलिक र प्राकृतिक हुन्थे।
बिदा र बिदाको चिठी
त्यसरी बिदा लिएका कतिपय दिनहरू मलाई अहिले पनि याद छ। “आज घरमा मकै छर्ने काम छ। हिजो पानी आएर आज मकै छर्ने माटो उपयुक्त भएको छ। फेरि ठूलो पानी आयो भने मकै छर्न मिल्दैन भन्नुभएको छ। हली दाइले जोत्नुहुन्छ। तर मकै रोप्ने मान्छे कोही छैन। दाजुहरूको बिरुवाको स्कूलमा जाँच भएकाले बिदा लिन मिल्दैन। त्यसैले जोतेको सियोमा मकै रोप्ने काम परेकाले मलाई एक दिनको बिदा दिनुहुन् सविनय अनुरोध छ” भन्ने भावको पत्र लेखेको कुरा स्मरणमै छ।
हामीले सुरुमा धुलौटोमा छेस्काले र खरीले पाटीमा अक्षर लेख्न सिक्यौँ। विस्तारै सिसाकलमले कोर्न थालियो। मंसिरे कटुसको पातबाट मसी बनाएर निगालोको कलमले बाँसको सुप्लोमा लेखेको याद छ। पछि ‘पार्कर’ , ‘चाइनिज’ कलम आदि आए। औषधिको बोतलजस्तो घोल्न मिल्ने मसी पाइन्थ्यो। त्यसलाई पानीमा घोलेर मसी बनाएर सानो सिसामा बिर्को लगाएर स्कूल जाँदा झोलामा राखेर लग्ने गरिन्थ्यो। कहिलेकाहीँ मसी पोखिँदा साह्रै नरमाइलो लाग्दथ्यो। स्कूल भर्ना हुँदासम्म करिब यो अवस्था विकसित भएको थियो। साथीहरूसँग मसी सापटी मागेर काम चलाउने पनि गरिन्थ्यो। कागज, कलम र मसी तीन चीजको जोरजुक्ति नमिल्दा लेखाइ हुँदैनथ्यो।
लाहुरेको चिठी
चिठीको कुरा गर्दा हामी विद्यालयबाट फर्किँदा चिठी पढ्ने अवसर प्राप्त हुन्थ्यो। तर भिन्न प्रकृतिका पत्र। भारतीय सैनिकमा काम गर्ने (लाहुरे) बा-आमा वा श्रीमतीहरू कहिलेकाहीँ हामी विद्यालयबाट आउँदै गर्दा चिठी पढ्नका लागि बाटामै आग्रह गर्थे। के लेखेको होला भनी कौतुहलताका साथ प्रतिक्षारत हुन्थे। उनीहरू कहिलेकाहीँ घरमा आउँथे, घरमा भने दाजुहरू भएकाले मैले पढ्न पर्दैनथ्यो। ती पत्रहरू पढ्दा रमाइलो लाग्दथ्यो। त्यसमा आफन्तहरू, ओल्लोपल्लो घरका छरछिमेकीहरू सबैलाई सम्झना गरिएको हुन्थ्यो।
जीवन पद्धतिका विषयवस्तु हुन्थे। मनमा जे आयो, त्यो लेखिएको हुन्थ्यो। लाहुरे हुँदा घर र छरछिमेकसँगको सामीप्यता र आत्मीयता पत्रमा प्रकट भएको हुन्थ्यो। “आमा र श्रीमती फलानीलाई तल धारबाट पानी ल्याउन गाह्रो भएको होला। बिहान रातिनै नउठ्नु होला। उज्यालो भएपछिमात्र पानी लिन जानु होला। धेरै दुख नगर्नु होला। पैसाको खाँचो भए फलानो अब यति दिनमा छुट्टीमा आउँछन्। उनीसँग म अलिकति पैसा पठाउँछु।” यस्ता पत्रहरू थुप्रै पढ्न पाइन्थ्यो। “अब त मकै छर्ने बेला भयो होला। पानी परेको छ कि छैन” जस्ता थुप्रै विषयवस्तु त्यसमा हुन्थे। पढ्दै गर्दा कतिपय आमाहरू त धुरुधुरु रुनुहुन्थ्यो। “बरु मेरो कान्छाले वा ….ले सबैलाई सम्झेछ। सञ्चै पनि रहेछ,” भनेर पढ्दा-पढ्दै प्रतिक्रिया पनि दिनुहुन्थ्यो। घरमा पत्र लिएर पढ्न आउँदा दाजुहरूले पत्र पढ्दै गर्दा कतिपय प्रसंगमा हाम्री आमा पनि धुरुधुरु रोएको सम्झना छ।
कहिलेकाहीँ ती पत्रको जवाफ पनि लेख्नुपर्ने हुन्थ्यो। पत्र लेख्न आग्रह गर्ने आमा वा भाउजूहरूले “अस्ति तिमीले पढेको लाहुरेले लेखेको पत्रमा फलानालाई सम्झन बिर्सेछ, अब पत्र लेख्दा त्यसलाई पनि सम्झिनु भनेर लेख्नु है कान्छा” भनेर भन्नुहुन्थ्यो। पत्रहरू इष्टमित्र र छरछिमेकलाई सम्झना गर्ने र सामीप्यता बढाउने अमूर्त साधन थिए। सामाजिक सामीप्यतालाई प्रगाढ बनाउने आधार थिए। पत्र लेखिसकेपछि पढेर सुनाउनुपर्दथ्यो। छुटेको कुरा थपेर लेखिन्थ्यो। अर्को पत्र लेखिँदैनथ्यो। प्रसंग बिग्रिएको भए माथि यो कुरा बिर्सिएछ, यो पनि थपेको छु भनेर लेखिन्थ्यो। त्यसले पत्रमा झन् जीवन्तता हुन्थ्यो जस्तो लाग्दछ। अरूका मनभित्रको अदृश्य भावनालाई उनीहरूको चित्त बुझ्ने गरी शब्दमा उतार्नु सजिलो थिएन। तथापि सकिँदैन, गरिँदैन भन्ने चलन थिएन। त्यही अनौपचारिक साधना र अभ्यासले होला, हामी प्रकृति, नदी, ढुंगा, पहाड, देउता वा अरू कुनै पनि विषयमा कलम चलाउन आनाकानी नगरिकन हिम्मत गर्थ्यौँ।
दसैंको निबन्ध
त्यतिबेला जाँचको अघि र जाँचपछि केही दिन बिदा हुन्थ्यो। बर्खे र हिउँदे बिदा पनि हुन्थ्यो। विद्यालयमा नयाँ शैक्षिक वर्षको कक्षा भने पुसमा हुन्थ्यो। हामी सामान्यतः माघ लागेपछि मात्र विद्यालयमा जान्थ्यौँ। बर्खे बिदा चाहिँ धान र कोदो रोप्ने काममा मज्जाले उपयोग हुन्थ्यो। मकै गोड्ने काम भने बर्खे बिदा अघाडि नै मेसो मिलाएर गर्नुपर्ने हुन्थ्यो। बिदापछि स्कूल जान साह्रै रमाइलो लाग्थ्यो। शास्त्री (गुरु) हरूले बिदाका लागि गृहकार्य प्रशस्त मात्रामा दिनुहुन्थ्यो। नेपालीका शास्त्रीले धेरैजसो निबन्ध लेख्न दिनुहुन्थ्यो। एकपटक दसैंको बिदामा “दसैंमा तिमीहरूले के-के गर्छौ, त्यो बारेमा निबन्ध लेखेर ल्याउनु” भनेर नेपालीका शास्त्रीले दिएको काम गर्ने बिर्सेछु। स्कूल गएको पहिलो दिनमा सबैको कागज गुरुले माग्नुभयो। धेरैले बुझाए। कसैले गरिनँ, बिर्सेछु भने। एक-दुईजना साथीले गर्न जानिनँ भने। मैले कागज घरमै छुटेछ भनेँ। पछि एउटा साथीले त्यसको नेपालीको काम उसैको झोलामा छ भनेर पोल लगाएछ। त्यो कुरा मैले भोलिपल्टमात्र थाहा पाएँ।
त्यो दिन बेलुकी रातिसम्म बसेर निबन्ध लेखेँ। त्यो रात निबन्ध लेख्ने रापले निद्रालाई जितेछ। म घरदेखि अलि पर गोठमा सुत्ने गर्थें। लालटिन निभाउन बिर्सेछु भनेर आमा त्यही गोठमा नै पुग्नुभयो। आमाको उठ्ने बेला भइसकेको रहेछ। भोलिपल्ट शास्त्रीलाई निबन्ध लेखेको कागज बुझाएँ। शास्त्रीले ती पोल लगाउने साथीलाई उल्टै गाली गर्नुभयो। “कति लामो निबन्ध लेखेछ, यति धेरै कति दिनमा लेखेको होला। तिमीले नबुझी उसलाई दोष लगायौ” भनेर त्यो साथीलाई अलि डरमर्नु पार्नुभयो। मेरो त्यो निबन्ध प्रथम भएछ। मैले त्यो निबन्धमा खासै नयाँ कुरा लेखेको थिइनँ। दसैंमा के-के गरियो, सम्झिसम्झी लेखेको थिएँ। आफूलाई राम्रो लागेको कुरालाई व्याख्या गरेको थिएँ। रुखको हाँगामा हालेको लठ्ठे पिङ र रोटेपिङका बारेमा राम्रैसँग लेखेको थिएँ। दसैंको दिनमा बाको मामा घर (तनहुँ जिल्लाको हुँकामा) रातिमा पुगेको कुरा सबिस्तार लेखेको थिएँ। हाम्रो आफ्नै मामाको घर बाटोमा पर्ने भए तापनि नपसेर नै बाको मामा घर गएको थिएँ। हाम्रोतिर दसैंको टीका एक दिन मात्र लगाइन्छ। भाग लगाउँदा मेरो भाग बूढामावली परेको थियो। मामाको घरमा जाने भाग डोलराज दाइको परेको थियो जस्तो लाग्छ। दसैंपछि बूढामावलीबाट फर्किँदामात्र मामाको घरमा पसेको सम्झना छ।
दसैंमा टीका लगाएर सोचेभन्दा निकै धेरै पैसा कमाएको। त्यो पैसा अलिकति कागज किन्न खर्च गर्ने र अरू बचाएर अर्को वर्ष फेरि त्यसरी नै कमाएर चप्पल किन्ने योजना समेत निबन्धमा लेखेको सम्झनामा छ। ती नेपाली पढाउने शास्त्रीले प्रशंसा गर्दै “भोजराजले मौलिक निबन्ध लेखेछ, त्यसको अक्षर राम्रो भएको भए त निकै राम्रो हुन्थ्यो। कहिलेकाहीँ त बुझ्नै गाह्रो हुन्छ। त्यसले ढिलो लेख्छ। बिदामा समय पायो। ढिलो लेख्ने मानिसलाई फाइदा भएछ” भनेर भनेको कुरा हिजो नै हो कि जस्तो लाग्छ।
सायद त्यस निबन्धमा लेखाइमा मलाई गोठको चुपचाप वातावरणले शब्द चयन र इमानदार प्रस्तुतिमा सहयोग गरेको थियो होला। म प्रकृतिको सामीप्यमा थिएँ। औपचारिक पाठ्यपुस्तकहरूसँग कुनै सम्बन्ध नराखी प्रकृतिको सामीप्यतामा दसैंको भुइँ र प्रकृतिसँगका सम्बन्धलाई सावधानीपूर्वक व्याख्या गरेको हुनुपर्दछ। यो नै त्यस्तो लेखाइ थियो जहाँ मनले जे भन्थ्यो, त्यो लेख्न पाइथ्यो। केही सोच्ने वा निर्णय लिने अनि कागजका पानामा उतार्ने एक सुनौलो अवसर थियो। अरू लेखाइमा त प्रश्नले जे सोध्यो, किताबमा जे छ, त्यही लेख्नुपर्ने हुन्थ्यो।
प्रेमपत्र
चिठीको कुरा गर्दा जिते कामी दाइको सम्झना आइरहन्छ। आँसी, कुटो, कोदालो आदि फलामको काम गर्ने जिते कामी भन्ने हुनुहुन्थ्यो। बा-आमालाई बराजु र मलाई काञ्छा बराजु भन्नुहुन्थ्यो। असाध्यै आदर गरेर बोल्नुहुन्थ्यो। उहाँ घरमा आउँदा साह्रै रमाइलो लाग्दथ्यो। खाना खाने गरी आउँदा घरभित्र लग्ने चलन थिएन। अर्थात् तल्लो जातको भएकाले घरभित्र पस्ने अनुमति हुँदैनथ्यो। खाना बाहिर नै दिइन्थ्यो। बाँदर कुर्ने उहाँले असाध्यै पिरो खानुहुन्थ्यो। उहाँ आउँदा हामी चाहिँ फुर्की-फुर्की खुर्सानी टिप्न गइन्थ्यो। बर्खाको बेला मकै पाक्ने समयमा बाँदरले मकै खाएर साह्रै सताउँथ्यो। पानी र घामबाट जोगिन बाँदर कुर्न सानो दुई पाखे गोठजस्तो कटेरो बनाउने चलन थियो। त्यही कटेरोमा बसेर टिन ठटाएर बाँदरलाई टाढैबाट भगाइन्थ्यो। एक दिन कटेरोमा एक्लै थिएँ। सायद १०-११ वर्षको थिएँ होला। दुई जना बैँस भरिएका दिदीहरू आए। उनीहरूमध्ये एक जनाले “म जिते कामीकी छोरी हुँ” भनेर परिचय दिइन्। त्यतिबेला सानो मान्छेलाई कसैले पनि तपाईं भन्दैनथ्यो। तर तिनीहरूले “काञ्छा बराजु, कति पढ्नुभएको छ?” भनेर आदरपूर्वक सोधे। म प्रफुल्लित भएँ। कुराकुरामा “हुजुरलाई चिठी लेख्न आउँछ?” भने। लेख्न त आउँछ होला, तर खासै लेखेको त छैन भनेँ।
“तपाईंसँग लेख्ने खाली कागज छ?” भनेर सोधिन्। हामी त्यसरी बाँदर कुर्न जाँदा सामान्यतः किताब-कागज लिएर जाने गरिन्थ्यो। आफूसँग खाली कागज भएको कुरा प्रतिक्रिया दिएँ। जिते कामी दाइकी छोरी भनेकाले सहयोग गर्न मन लाग्नु स्वाभाविक थियो। चिठी लेख्न सुरु भयो। ती दिदीले मलाई भिनाजु भनेर सम्बोधन गर्न लगाइन्। मैले त्यसरी नै लेखिदिएँ। कागजको बीचको लत्तो निकालेर लेख्न सुरु गरेको थिएँ। उनले धाराप्रवाह यो लेख्न र ऊ लेख्न भनिन्, म लेख्दै गएँ। पूरा दुई पाना चार पेज सकियो, उनका कुरा सकिएन। उनले भिनाजुसँग बजार जाँदाका कुरा, खेताला जाँदाका कुरा भन्दै गइन्, म लेख्दै गएँ। परम लगाएर कोदो रोपेको आदि गन्थन नै गन्थन। एउटा प्रसंग सकिएपछि अर्को सुरु भइहाल्थ्यो। त्यसैले एकपछि अर्को नयाँ विषयवस्तु आउने हुँदा धेरै पट्यार लागेको थिएन। धेरै ठाउँमा शब्द बुझिन, तर अर्थ नबुझिने कुरा लेख्न भनिन्। जस्तो ‘उही ठाउँ, उही समय?’, ‘तिमी फेरि सम्झनामा, सम्झन्छौ नि त्यो रात?’, ‘जसो भए पनि एउटै नजर’ आदि। उनका लागि यी वाक्यहरू सामान्य र अर्थपूर्ण थिए होलान्; तर मैले केही बुझेको थिइन।
ठाउँ-ठाउँमा गीतका टुक्का राख्न मिल्छ भन्थिन्, मैले मिल्छ भन्दै लेख्दै गएँ। फेरि अर्को पाना कागज च्यात्नुपर्ने भयो। मैले “काञ्छा बाबुलाई एउटा सिङ्गै कागज किनेर ल्याइदिन्छु, मिल्छ भने मेरा सबै कुरा लेखिदिनुस्” भनिन्। मैले भनेजति लेखिदिएँ। गमिला-गमिला गीत लेख्न लागिन्, म लेख्दै गर्दा दङ्ग परेको थिएँ। उनमा तत्कालै गीत बनाउने तागत रहेछ। त्यही क्रममा गीत रचना गरेर गाउँथिन् र अर्की साथीकी साथीलाई सँगसँगै गाउन लगाउँथिन्। मैले रमाइलो मान्थेँ। एकछिन सोचविचार गर्थिन्, अनि भावपूर्ण गीत भन्थिन्। बेलाबेलामा नबुझिने भाषा लेख्न लागाइन, म दङ्ग पर्दै लेख्दै गएँ।
अहिले प्रयोग गरिन्छ कि गरिँदैन, म जानकार छैन। त्यतिबेला गाउँघरतिर युवा-युवतीले प्रयोग गर्ने अचम्मको भाषा हुन्थ्यो। त्यो कुरा त्यो चिठी लेख्ने बेलासम्म मलाई जानकारी थिएन। त्यसबेला पनि बुझिन। धेरै महिना वा वर्षपछि नै हो जस्तो लाग्छ। हाम्रो स्कूलका सञ्चालक समितिका अध्यक्ष दुमबहादुर गुरुङले एक दिन बिहान विद्यालयमा प्रार्थनाको बेला “हामीले किन पढ्नुपर्छ?” भन्ने बारेमा चर्को स्वरमा सुनाए। उनी भारतीय सैनिकमा काम गर्दाको अनुभव सुनाउँदै “पढ्नुपर्छ, कम्तीमा नेपाली भाषा (उनको भाषामा खस कुरा), गणितको सामान्य जोड-घटाउ र अलिअलि अङ्ग्रेजी (इङ्लिस) सिक्नैपर्छ। सिकिएन भने गाउँका केटा-केटीले बोल्ने पार्से भाषा जस्तो हुन्छ” भने। उनी गुरुङ जातिका भए तापनि गुरुङ भाषालाई निरुत्साहित गर्ने कुरा हामीलाई सम्झाएका थिए। त्यो क्रममा गुरुङ भाषालाई अरूले नबुझ्ने, गाउँका युवा-युवतीले बोल्ने सांकेतिक भाषासँग तुलना गरेका थिए। त्यसैका आधारमा मैले अनुमान गरेको थिएँ, ती जिते दाइकी छोरीले उनी र उनले भनेका भिनाजु दुई जनाले मात्र बुझ्ने भाषा लेख्न लगाएकी रहिछन् भनेर।
मलाई सम्झना भयो, उनले भिनाजु भनेर सम्बोधन गर्न भनेकीले मैले पुज्यनीय भिनाजु भनेर सम्बोधन गरेको थिएँ। पछि पत्र पढेर सुनाउँदा पुज्यनीयको ठाउँमा “मलाई धेरै माया गर्ने” भनेर लेख्न मिल्छ भनेकी थिइन्। मैले केर्नुपर्छ, काटेर मात्र लेख्नुपर्छ भन्दा हुन्छ भनेकी थिइन्। त्यसरी पहिला लेखेको काटेर लेखिदिएको थिएँ। सायद उनले भिनाजु भनेर सम्बोधन गर्न लगाएको भए पनि उनीहरूबीचको केही समझदारी होला। लाग्छ, ती पत्र लेखेका मानिस उनका प्रेमी नै थिए। उनले “जलिरहेको मुटु”, “गहिरा नदीझैं आँखाहरू” जस्ता शब्दहरू लेख्न लगाए जस्तो पनि लाग्दछ।
ती मलाई पत्र लेख्न भनेका दिदीहरूमा उच्छृङ्खलता कत्ति पनि थिएन। निकै भावुक देखिन्थे। सँगै भएकी साथी को थिइन्, मलाई ख्याल भएन, तर उनले पनि ती पत्र लेख्न लगाउने दिदीलाई शब्द चयन गर्दा होस् वा गीत जुराउँदा हृदयदेखिनै सहयोग गरेको मैले अनुभव गरेको थिएँ।
उनीहरू हाम्रो घरदेखि पारीको तारेपहरातिर दाउरा खोज्न आएका रहेछन्। अलि तलसम्म आएर दाउराको भारी पुर्याएपछि ठूलो गहिरामा पानी खाएर। त्यही बाटो आउँदै गर्दा आकाशबाट पानी परेकाले ओत लाग्न त्यो बाँदर कुर्ने कटेरोमा पसेका रहेछन्। मैले लेखेको पत्र हातमा लिएर असाध्य खुसी हुँदै “आज पानी परेको पनि कति जाती भयो” भन्दै दाउराको भारी भएतिर लागे। अलिपछि उकालो चढ्दै गर्दा सुरिलो स्वरमा गीत गाउँदै ठाडो बाटो लागे। सायद त्यही चिठीको लागि जुराएका गीतहरू गाउँदै गए होलान्। गीत सुनिरहन मन लागेको थियो। विस्तारै टाढा-टाढा हुँदै गए। गीत मलिन भयो। विस्तारै सुनिन छाड्यो।
त्यही भेगमा जन्मे-हुर्केको भए तापनि त्यस्तो युवा-युवतीले प्रयोग गर्ने भाषाका बारेमा जानकार भइएन। सुरुदेखि नै त्यसप्रति सकारात्मक भावनाको विकास भएन। अहिले मन त्यता पुग्यो। अहिले फुर्सद छ, यी विषयमा गम्ने अवसर मिलेको छ। ती जिते कामीकी छोरीले लेख्न लगाएको मेरो निम्ति अमूर्त भाषा नेपालका दुर्गम र ग्रामीण बस्तीहरूमा जताततै प्रयोग गरिँदो रहेछ। नेपालका प्रायः रैथाने बस्तीका युवा-युवती वा भूमिपुत्र-पुत्रीहरूले प्रयोग गर्थे रहेछन्। त्यो भाषालाई गोप्य संहिता भने पनि हुनेरहेछ।
यो भाषा शैलीमा सामान्य भाषालाई परिवर्तन गरेर अरूले नबुझ्ने बनाइने रहेछ। विशेषतः हरेक शब्दको अघाडि वा भित्र कुनै विशेष अक्षर वा शब्द जोडिने रहेछ। आवाजको ध्वनि नै परिवर्तन गरिने रहेछ। बोलाइको लय परिवर्तन हुनेरहेछ। मूल उद्देश्य भनेको अरूले नबुझ्ने गरी गोप्य रूपमा कुरा गर्नु नै हो। कोही अलि अभ्यस्त भइसकेकाले अलि जटिल रूपमा प्रयोग गर्थे रहेछन्। कसैले सामान्य रूपमा। उदाहरणका लागि “तिमी कहाँ गइरहेका छौ?” यसलाई “सतिमी सकहाँ सगइरहेका सछौ?” यहाँ हरेक शब्दको अघाडि “स” थपिएको छ। त्यस्तै “तिमी मलाई मन पर्छौ।” लाई “तिलमील मललालईल मलनल पलर्छौल।” यहाँ हरेक शब्दको बीचमा “ल” घुसाइएको छ। अरूले पत्तै नपाउने अर्को अलि जटिल प्रक्रिया पनि रहेछ, जस्तो “प” अक्षरलाई आधार बनाएर खानुभयो (खा + नु + भ + यो) भन्ने शब्दलाई “खपाप + नुपु + भप + यपो” अर्थात् खपानुपुभपयोपो भनेर बोलिने रहेछ। हामीलाई विश्वासै लाग्दैन कसरी प्रयोग होला भनेर। उनीहरू सजिलै यसरी बातचित गर्थे रहेछन्। उनीहरूका लागि सामान्य भाषा बोले भन्दा बढी रोमान्टिक र सहज हुन्छ रे। आन्तरिक मनोभावना र पीडाका विषयवस्तु सहजै अभिव्यक्त हुन्थे रे।
यो औपचारिक भाषाशास्त्रीय भाषा होइन, तर सांस्कृतिक रूपमा विकसित भएको गोप्य सञ्चार माध्यम होइछ। गाउँमा गोप्य प्रेम सम्बन्ध लुकाउने आवश्यकताबाट यस्तो भाषाको उत्पत्ति र विकास भएको मान्यता रहेछ। यस्तो भाषा प्रायः मौखिक परम्परामा सीमित छ र खासै लेखिएको फेला पर्ने रहेछ। नेपालको दुर्गम गाउँहरूमा यसलाई ‘परो’ भाषा वा ‘परो’ बोली पनि भनिने गरेको पाइयो। कहीँ यसलाई ‘मरो’ बोली भनेको पनि पाइयो। हाम्रोतिर भने पार्से भाषा नै भनिने रहेछ। नेपाली जीवन पद्धतिमा नेपालका दुर्गम गाउँहरूमा युवा-युवतीहरूले गोप्य प्रेमालाप गर्ने नेपाली ग्रामीण संस्कृतिको एउटा रोचक पक्ष रहेछ। नेपाली ग्रामीण जीवनको सामाजिक जीवन्तता र रचनात्मकताको प्रतीक हो भन्ने लाग्यो, तर अहिले युवा पुस्ताको सञ्चार सुविधाको कारण यो बोली सामान्यतः हराइसकेको छ।
डिजिटल युगका पत्र
आजभोलिका डिजिटल युगका युवा-युवतीहरूले यसलाई अलि भिन्न तरिकाले प्रयोग गर्छन् रहेछन्। प्रेम जोडीले भन्दा पनि यो उनीहरूको समूहको पहिचान, आन्तरिक सञ्चार र एकअर्कासँगको सम्बन्धलाई अझ बलियो बनाउन प्रयोग गरिने रहेछ। अहिलेको यो नयाँ विकसित विषय पनि जानकारीमा रहेनछ। अहिले पनि यस्ता शब्द र वाक्यांशहरू प्रायः नयाँ हुने रहेछ, द्रुत गतिमा परिवर्तन हुने र कुनै निश्चित समूह वा उप-संस्कृतिमा मात्र सीमित हुनेरहेछ। यसले उनीहरूलाई एक प्रकारको गोपनीयता र विशिष्टताको भावना प्रदान गर्ने रहेछ। तर हिजका ती विद्यालयमा लेखेका पत्र, लाहुरेले र लाहुरेलाई लेखेका चिठी र प्रेमपत्रमा ठूलो अन्तर छ।
नयाँ डिजिटल युगका युवा-युवतीले प्रयोग गर्ने र अरू उमेर समूह वा डिजिटल दुनियाँमा कम सक्रिय मानिसले सजिलै नबुझ्ने भाषालाई मुख्यतः डिजिटल स्ल्याङ , इन्टरनेट जार्गन , वा अनलाइन लेक्सिकन भनिने रहेछ। अनलाइन च्याट वा सामाजिक सञ्जालमा छिटो टाइप गर्नका लागि शब्दहरूलाई छोटो बनाइने रहेछ र तिनीहरूको पहिलो अक्षर मात्र प्रयोग गर्ने गरेको पाइयो। जस्तो एलओएल (लाफिङ आउट लाउड) – ठूलो स्वरले हाँस्नु; बीआरबी (बी राइट ब्याक) – तुरुन्तै फर्किन्छु; ओएमजी (ओ माइ गड) – हे भगवान्, आदि। भावना, विचार वा प्रतिक्रिया व्यक्त गर्न शब्दभन्दा बढी इमोजी (चित्र) र मीम (तस्बिर वा भिडियोमा आधारित व्यंग्यात्मक अभिव्यक्ति) को प्रयोग गर्ने रहेछन्। यी कुराहरू अनलाइन संस्कृतिसँग परिचित नभएकालाई बुझ्न गाह्रो हुन्छ। ती युवाहरूले आफ्नै नयाँ शब्दहरू वा शब्दका नयाँ अर्थहरू सिर्जना गर्छन्, जुन सामान्य शब्दकोशमा पाइँदैनन्।
तर पहिलाका पार्से वा परो भाषाको लेखाइमा (समाजशास्त्री बासिल बर्नस्टाइनले भने जस्तो) साझा अनुभव, स्मृति र भावनाले नै अर्थ प्रकट गर्ने खालका हुन्थे। तिनमा भावनात्मक गहिराइ, आत्मीयता र लेख्ने, लेखाउने र प्राप्त गर्ने बीचको विश्वास र मायाका माध्यम पनि थिए। विद्यालयले मात्र यो परिवेशको ज्ञान उत्पादन गर्न सक्थेन। विद्यालयले प्रायः औपचारिक भाषालाई मूल्य दिन्छ। ती सामाजिक अन्तरक्रियाले सरल, सन्दर्भ-आधारित अभिव्यक्तिबाट, भावनात्मक र परिष्कृत सञ्चार गरिरहेका हुन्थे।
त्यतिबेला केही पढ्न जानेका केटाहरूले प्रेमपत्र लेखेको याद छ। उनीहरूले लेखेको पत्रमा गहिरो भाव हुन्थ्यो। कतिपय सामान्य रूपमा नबुझिने पनि हुन्थे। “त्यस्तो पढ्न नजान्ने केटाले कसरी लेख्थ्यो, कहाँबाट चोरेर ल्यायो होला” भनिन्थ्यो। तर कुरो त्यसो होइन। विद्वान् लेखक मीन विष्टका अनुसार त्यसबेला प्रेमपत्र लेख्नु भनेको “लघु अनुसन्धान गर्नु सरह नै हो। प्रेमपत्र लेखकहरूले आफ्नै सानो खोजबिन गर्थे। उनीहरूले नेपाली वा हिन्दी गीतहरू ध्यानपूर्वक सुन्थे, नाटकीय फिल्मका संवादहरू सम्झन्थे, वयस्कहरूले प्रयोग गरेका काव्यात्मक पंक्तिहरू दोहोर्याउँथे र प्रकृतितर्फ पनि प्रेरणा खोज्थे— चराचुरुङ्गी र जनावरहरूबीच प्रेम कसरी प्रकट हुन्छ भनेर अवलोकन गर्थे। यी रूपकहरूले उनीहरूलाई आफ्ना चाहनाहरू वर्णन गर्न मद्दत गर्थे। यो प्रक्रियाले उनीहरूलाई केवल लेखक होइन, आफ्नै जीवनका विद्यार्थी-कविहरूमा रूपान्तरण गर्न मद्दत पुग्थ्यो।”
उनी लेख्छन्, “जब शब्दहरू अपर्याप्त लाग्थे, उनीहरू प्रेरणाका अन्य स्रोतहरूतिर फर्कन्थे। अलि सम्पन्न परिवारका केटाहरू, जसको घरमा कुनै पुराना उपन्यास वा फिल्मी म्यागेजिनहरू हुन्थे, उनीहरू ती सामग्री खोज्न लाग्थे। यस्ता उपन्यासहरू प्रायः अति नाटकीय र भावनात्मक हुन्थे, तर तिनमा मन चोर्ने वाक्यहरूको खजाना हुन्थ्यो।” अहिले मलाई यी सबै पक्ष सत्य लाग्दछ। ती केटाहरूले चोरेको होइन भन्ने लाग्दछ। किनभने ती नपढेकी दिदी (मलाई तपाईं भनेर आदर गर्ने जिते कामी दाइकी छोरी) सँग पनि गहिरा भावनात्मक शब्द र विषयवस्तु थिए। उनले मैले वाक्य संरचना गर्दै गर्दा सबै तागत प्रयोग गरेर मनसस्तिक निचरेर निश्चित सांकेतिक कुरा लेख्न लगाइरहेकी थिइन्। त्यतिबेलाको पढ्न र लेख्न जान्ने भनेको पढ्न र लेख्न सक्ने मात्र थिएन, बुझ्न, सम्प्रेषण गर्न र विचारहरू निर्माण गर्ने क्षमताको विकास पनि हुन्थ्यो। शब्दहरू सरल हुन्थे। इमानदार प्रस्तुति हुन्थ्यो।







