काठमाडौँ । प्रतिनिधि सभाका सांसदहरुले बाराको सिमरामा तीन वर्षीया बालिकाको बलात्कारपछि निर्मम हत्या भएको घटनाको सत्यतथ्य छटानविन गरी दोषीलाई हदैसम्मको कारवाही गर्न माग गरेका छन् ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा सांसदहरुले यस्तो माग गरेका हुन् । बैठकमा बोल्दै नेपाली काँग्रेसकी सांसद डा. शाहजान खातुनले ३ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटना मानवतामाथिको कलंक भएको बताए । उनले हाम्रो छोरीहरू कहाँ सुरक्षित छन् ? भन्दै सरकारलाई प्रश्न समेत गरे । सांसद खातुनले बलात्कारजस्ता जघन्य अपराधका घटनामा कानून बनाएर मात्र नपुग्ने भन्दै त्यसको कठोर कार्यान्वयन गर्न आवश्यक रहेको पनि बताए। उनले छोरीको जीवनभन्दा ठूलो केही नहुने भन्दै अपराधीलाई, उमेर, लिंग वा शक्तिका आधारमा उम्किन दिन नहुने बताए । उनले बालिका तथा महिलामाथि हुने यौन हिंसाका घटनामा शून्य सहनशीलताको नीति लागू गर्न समेत सरकारको ध्यानाकर्षण गराए। उनले कानून बनाई बलात्कारीलाई फाँसीको सजाय गर्ने व्यवस्था गर्न समेत माग गरे ।
रास्वपा सांसद रहबर अन्सारीले ३ वर्षीया बालिकाको बलात्कारपछि निर्मम हत्या भएको घटनामा प्रहरी प्रशासनले लापरबाही गरिरहेको आरोप लगाए । उनले घटना दर्ता भएपछि पनि प्रहरीले सक्रिय नहुनु गम्भीर विषय भएको बताए । उनले प्रहरीको एक्सन लग सार्वजनिक गरी दोषी प्रहरीमाथि कारबाही समेत माग गरे।
बाराको जितपुरसिमरा-१ दसधुरीकी मनमती चौधरीकी तीन वर्षीया छोरी गरिमा चौधरी साउन ३१ गते बिहान घरबाट हराएकी थिइन् । उनको शव मंगलवार एउटा घरको खाली कोठामा फेला परेको थियो ।






