काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जिल्लामा पूर्वाधार निर्माणका कामलाई व्यवस्थित र सहज ढंगले सञ्चालन गर्नका लागि सुनसरीमा पूर्वाधार कार्यालय शुभारम्भ गरिएको बताएका छन् ।
सुनसरी सदरमुकाम इनरुवा-४ स्थित बस चौकपार्कमा पूर्वाधार कार्यालयको उद्घाटन गर्दै उनले नागरिकको घर नजिकको प्रदेश सरकारको कामलाई प्रत्यक्ष रूपमा जनतालाई महसुस गराउने उद्देश्यसहित कार्यालयको स्थापना गरिएको उल्लेख गरे ।
विकासको कामलाई तत्कालै अगाडि बढाउन र स्थानीयको प्राथमिकताको आवश्यकतालाई मध्यनजर गर्दै सरकारको योजनाअनुसार कार्यालय स्थापना गरिएको उनले उल्लेख गरे । उनले सुनसरीमा प्रदेशकै ठूलो आयोजना कोशी रिफ्रेसमेन्ट सेन्टर यसै वर्षबाट सञ्चालनमा आउने, दुई वर्षभित्रमा अरवौका संरचना निर्माण गर्ने गरी प्रक्रिया अगाडि बढाएको जानकारी दिए । त्यसैगरी रामधुनी र कोशी टप्पुलाई पर्यटकीय आकर्षक गन्तव्यका रूपमा विकास गर्न लागिपरेको उनको भनाइ छ ।
दुहवी-इनरुवा सडकको यसै वर्षबाट ठेक्का लगाएर निर्माण काम अगाडि बढाउने र कौवाखोच सडक निर्माणलाई तीव्रता दिएको बताए ।
कार्यक्रममा कोसी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारी, पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डल, प्रदेशसभा सदस्य इसराईल मंसुरी, रामप्रसाद मेहता, जिल्ला समन्वय समिति सुनसरीका प्रमुख राजन मेहता, सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी, हरिनगर गाउँपालिकाका प्रमुख गफार अंसारी लगायतको उपस्थिति थियो ।







